तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतबाट कालिकोट जाँदै गरेको फोर्स गाडी कर्णाली नदीमा खस्यो, एक जनाको मृत्यु

सुर्खेत । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुवाहक फोर्स गाडी दैलेखमा दुर्घटना हुँदा एक जना मृत्यु भएको छ । 

आज बिहान साढे ११ बजेतिर क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ सांगेताडा भन्ने स्थानमा अनियन्त्रित भई दुर्घटना हुँदा सडकबाट अन्दाजी ४ सय मिटर तल कर्णाली नदीमा खसेर दुर्घटना भएको हो । 

प्रहरीका अनुसार अन्दाजी ४० वर्ष उमेर जस्तो देखिने पुरुषको शव भीरमा अड्किएको अवस्थामा निकालिएको छ । मृतकको नाम, थर तथा वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । कर्णाली नदी धमिलो भएकाले उद्धार कार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ । 

उद्धारमा जिल्ला प्रहरी कार्यालय दैलेख, सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस र प्रहरी चौकी पाल्तडा, ईप्रका दुल्लु, ईप्रका राकमबाट उद्धार टोली खटिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी (एसएसपी) सन्तोषसिंह राठौरले बताउनुभयो । 

उहाँका अनुसार सुर्खेत बसपार्कबाट बिहीबार बिहान ८ बजे छुटेको गाडीमा बसपार्कबाट ५ जना यात्रुहरू चढेका थिए । थप बाटोमा पनि केही यात्रु चढेको जानकारी पाइएको उहाँले बताउनुभयो । 

दुर्घटनामा परी बेपत्ता यात्रुको खोजी कार्य तीव्र पारिएको जनाउँदै उहाँले गाडीमा सवार यात्रुको संख्या तथा मानवीय क्षतिको यकिन विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो । यता कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) जयराज सापकोटाको टोली समेत सुर्खेतबाट घटनास्थल पुग्न लागेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button