‘एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न फिफाका प्रतिनिधिसँग छलफलको प्रयास भइरहेको छ’

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रतिबन्ध फुकुवा गर्न फिफाका प्रतिनिधिहरूसँग छलफलको प्रयास भइरहेको बताउनुभएको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्नेक्रममा सञ्चारकर्मीको एक जिज्ञासामा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले अहिलेको समस्याको निकासबारे छलफलका लागि फिफा र एशियाली फुटबल संघ (एएफसी)का पदाधिकारीलाई वार्तामा बोलाइसकेका बताउनुभयो ।
अहिलेको सरकारबाट नभई विभिन्न समयमा विभिन्न तहबाट सरकारको हस्तक्षेप भएका कारण एन्फामाथि प्रतिबन्ध लागेको बताउनुहुँदै मन्त्री पोखरेलले एन्फामा भएका भ्रष्टाचारहरूको निष्पक्ष छानविन गरी दोषीमाथि कारबाही गर्न र फुटबलको विकास गर्न सरकार लागिरहेको बताउनुभयो ।
मन्त्री पोखरेलले राजनीतिक हस्तक्षेपका कारण नेपालमा फुटबलको विकास हुन नसकेको उल्लेख गर्नुहुँदै एन्फालाई राजनीतिक भर्ती केन्द्र र भ्रष्टाचारको अखडा हुन नदिन सरकारले गम्भीर कदम चाल्ने बताउनुभयो ।

यसैबीच आज बसेको मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो ।
यसैगरी, बैठकले अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने, कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली २०८३ तथा शिक्षा दशौं संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले राष्ट्रिय सदाचार नीति २०८३ र राष्ट्रिय विज्ञापन नीति २०८३ स्वीकृत गर्ने, नेपाल प्रहरीमा कार्यरत ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गर्ने, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का धनकुटालाई नियुक्त गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्