तपाईँ सुन्दै हुनुहुन्छः

मानव, वन तथा वन्यजन्तुको सह-अस्तित्वका साथ वैज्ञानिक व्यवस्थापन आवश्यक: विज्ञ

जनकपुरधाम। मानव, वन तथा वन्यजन्तुबीच सन्तुलन कायम गर्दै वैज्ञानिक वन व्यवस्थापन गरिनुपर्नेमा यस क्षेत्रका विज्ञहरूले जोड दिनुभएको छ।

डिभिजन वन कार्यालय धनुषाको आयोजनामा आज धनुषाको ढल्केवरमा सम्पन्न ‘वन तथा वन्यजन्तु व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम’मा बोल्दै वक्ताहरूले यस्तो धारणा राख्नुभएको हो।

उहाँहरूले अव मानव विनाको चुरे वा वनको संरक्षण कठिन भएको बताउँदै यसैमा मानव सहितको वन्यजन्तुको वैज्ञानिक व्यवस्थापन आवश्यक भएको बताउनुभयो । 

वन क्षेत्रमा चरीचरण, खानेपानी तथा अन्य प्रकारको आहारको कमी हुँदै गएका कारणले वनमा आश्रित भएका वन्यजन्तुहरू वस्तिमा पसेर धनजनको क्षति गर्ने गरेको बताउँदै वनमा नै खानेपानी तथा आहाराको व्यवस्थापन जरुरी रहेको बताउनुभयो । 

कार्यक्रममा बोल्दै मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शङ्कर प्रसाद चौधरीले वन तथा वनमा बस्ने वन्यजन्तु मानवको शत्रु नभई मित्र भएको बताउँदै सह–अस्तित्वको साथ व्यवस्थापन जरुरी रहेको बताउनुभयो । 

उहाँले वन्यजन्तु मानवको शत्रु नभई मित्र भएको बताउँदै वन क्षेत्रमा चरीचरण तथा पिउने पानीको अभाव भएपछि वन्यजन्तुहरू वस्तिमा पसेर कहिले काहीँ मानव तथा वन्यजन्तुका बीचमा द्वन्द्व हुने गरेको बताउनुभयो । 

मधेश प्रदेशका वन निर्देशक जगन्नाथ प्रसाद जयसवालले चालु आर्थिक वर्षमा निर्देशनालयले वन्यजन्तुको आक्रमणमा परेर मृत्यु भएका ४ जनालाई १० लाखको दरले क्षति पूर्ति दिनुका साथै ५५ जना कृषकलाई बालीनाली नष्ट गरेका कारणले राहत दिने गरेको बताउनुभयो । 

डिभिजन वन कार्यालय धनुषाका प्रमुख एवं वन विज्ञ विनोद सिंहले मानव सहितको चुरे र वन्यजन्तुको संरक्षण आवश्यक भएको बताउनुभयो । विक्रम संवत् १९६४ सालमा नेपालमा वन क्षेत्र ३९.६ प्रतिशत रहेकोमा अहिले वन संरक्षणका कारणले अहिले बढेर ४६.०८ प्रतिशत पुगेको सिंहले बताउनुभयो । 

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेश कर्णले चुरे तथा वन विनाशका कारणले नै अहिले आएर मानव तथा वन्यजन्तुका बीचमा द्वन्द्व भएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ धनुषाका जिल्ला अध्यक्ष पुरन गुप्ता सहितका वक्ताहरूले बोल्नु भएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button