तपाईँ सुन्दै हुनुहुन्छः

यात्रु संख्या कमी भएकाले सुनथराली विमानस्थल सञ्चालनमा समस्या : मन्त्री पौडेल

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालीकोटको सुनथराली विमानस्थल सञ्चालनको मुख्य समस्या यात्रुको संख्या कमी भएको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले सोध्नुभएको प्रश्नको जवाफमा मन्त्री पौडेलले न्यूनतम यात्रु सङ्ख्याको उपलब्धता भएको अवस्थामा विमानस्थल सञ्चालन गर्न सकिने जानकारी दिनुभयो । 

मन्त्री पौडेलले नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृत उडान तालिका अनुसार नेपाल वायु सेवा निगमले सुर्खेत–कालिकोट–सुर्खेत खण्डमा प्रत्येक हप्ताको मङ्गलवार र शनिबार नियमित उडान गर्ने अनुमति लिएको भएपनि यात्रु संख्या कमी भएकै कारण उक्त विमानस्थलमा नियमित उडान हुन नसकेको अवस्था रहेको बताउनुभयो ।

नियमित विमानस्थल सञ्चालनका लागि प्राधिकरणको पहलमा नेपाल एयरलाइन्स, तारा एयर, समिट एयर, सीता एयर र स्थानीय प्रतिनिधिसमेतको उपस्थितिमा छलफल हुँदा तारा एयरले हप्ताको दुई दिन उडान गर्न सहमति जनाएको भएपनि स्थानीय निकायबाट यात्रुको सुनिश्चितता हुन नसकेकाले हालसम्म नियमित सेड्युल उडान हुन नसकेको मन्त्री पौडेलले बताउनुभयो ।

आगामी दिनमा स्थानीय तह र वायु सेवा निगमबिच समन्वय भई नियमित यात्रुको सुनिश्चितता भएको खण्डमा त्यहाँ आवश्यक पर्ने जनशक्ति, सञ्चार उपकरणलगायत अन्य प्राविधिक व्यवस्था मिलाउन सरकार प्रतिबद्ध रहेको पनि संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button