तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय रोजगारी प्रवर्द्धनमा कृषि आधुनिकीकरण र सीप विकासमा जोड

बाँके। बाँकेको जानकी गाउँपालिकामा रोजगारीका अवसर विस्तार, वैदेशिक रोजगार व्यवस्थापन तथा स्वरोजगार प्रवर्द्धनका विषयमा केन्द्रित रोजगार संवाद मञ्चसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा रोजगार संवाद मञ्चका अध्यक्ष छब्बन खाँले चालु आर्थिक वर्षमा गाउँपालिकाको श्रम स्वीकृति शाखामार्फत ५६ जनाले श्रम स्वीकृति लिएको जानकारी दिनुभयो। उहाँका अनुसार वैदेशिक रोजगारीमा रहेका श्रमिकका आठ जना छोराछोरीले छात्रवृत्ति प्राप्त गरेका छन्।

उहाँले चालु आर्थिक वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका तीन जनाको मृत्यु भएपछि उनीहरूका परिवारले वैदेशिक रोजगार बोर्डबाट १० लाख रुपैयाँ र बीमाबाट १३ लाख रुपैयाँ गरी कुल २३ लाख रुपैयाँ राहत प्राप्त गरेको बताउनुभयो।

रोजगार संयोजक सीमा चौधरीले कार्यक्रममा रोजगारीका सम्भावना, चुनौती र रोजगार प्रणालीलाई प्रभावकारी बनाउने उपायबारे छलफल भएको जानकारी दिनुभयो। उहाँले कृषि आधुनिकीकरण, प्राविधिक शिक्षामा लगानी, घरेलु तथा साना उद्योगको प्रवर्द्धन तथा उत्पादित वस्तुको प्रभावकारी बजारीकरणबाट स्थानीय स्तरमै पर्याप्त रोजगारी सिर्जना गर्न सकिने धारणा राख्नुभयो।

गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले कृषि आधुनिकीकरणसम्बन्धी प्रभावकारी नीति, स्वदेशी उत्पादनको प्रवर्द्धन, उत्पादनमूलक क्षेत्रमा लगानी र स्थानीय स्रोत–साधनको प्रभावकारी उपयोगको अभाव रोजगारी विस्तारका मुख्य चुनौती रहेको बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षमा आवश्यक नीति तथा कार्यक्रममार्फत जानकी गाउँपालिकालाई रोजगारीमैत्री पालिकाका रूपमा विकास गरिने उल्लेख गर्नुभयो।

वडा नं. ५ का अध्यक्ष टिकानाथ यादवले आधुनिक कृषि औजारको सहज उपलब्धता, दक्ष जनशक्तिको पलायन, घरेलु तथा साना उद्योग सञ्चालनसम्बन्धी सीपको अभाव तथा उद्योगी–व्यवसायीलाई पर्याप्त सहयोग नपुग्नु रोजगारी सिर्जनाका प्रमुख चुनौती भएको बताउनुभयो।

विपद् व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंहले रोजगार सेवा केन्द्रमार्फत बेरोजगारको अभिलेखीकरण गरी स्थानीय उद्योग तथा संस्थासँग समन्वय गरेर रोजगारी सिर्जना गर्नुपर्ने सुझाव दिनुभयो। मनोपरामर्शकर्ता राधा आचार्यले चालु आर्थिक वर्षमा २६ जनालाई मनोपरामर्श सेवा प्रदान गरिएको र तीमध्ये छ जना लैङ्गिक हिंसाबाट प्रभावित रहेको जानकारी दिनुभयो।

योजना शाखा प्रमुख शोभा पौडेलले वैदेशिक रोजगारीमा रहेका नागरिकको तथ्याङ्क संकलन गरी व्यवस्थित प्रोफाइल तयार गर्न सुझाव दिनुभयो। रोजगार संयोजक चौधरीले सीपमूलक तालिमसँगै सामूहिक उद्यम प्रवर्द्धन गर्न सके स्थानीय स्तरमै थप रोजगारी र स्वरोजगारीका अवसर सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा रोजगार संवाद मञ्चका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button