तपाईँ सुन्दै हुनुहुन्छः

बागमतीका समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया अघि बढाइँदै 

मकवानपुर । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित सहकारी संस्थाका साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाउने भएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा बुधबार हेटौँडामा बसेको बैठकले समस्याग्रस्त घोषित सहकारीहरूको सम्पत्ति बिक्री तथा ऋण फिर्ताको रकमबाट साना बचतकर्ताहरूको बचत रकम फिर्ताको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।  

बैठकले समस्याग्रस्त घोषित भई हाल व्यवस्थापनको कारबाहीमा रहेका ५ वटा सहकारी संस्थाको सम्पत्ति बिक्री तथा ऋण असुलीमार्फत साना बचतकर्ताको रकम फिर्ता दिने प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रामबाबु पुरीले बताउनुभयो । 

उहाँका अनुसार ५ वटा सहकारी संस्थामा सिभिल सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि., दर्शन बचत तथा ऋण सहकारी लि., नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी लि., लालीगुराँस बचत तथा ऋण सहकारी लि. र सुमेरु बचत तथा सहकारी संस्था लि.रहेका छन् । यी संस्थाहरूबाट बचतकर्ताको रकम फिर्ता गर्नका लागि तत्काल सार्वजनिक सूचना जारी गरी प्रक्रिया अगाडि बढाउन मुख्यमन्त्री बानियाँले निर्देशन दिनुभएको पुरीले बताउनुभयो ।  

यस्तै बैठकले सहकारी क्षेत्रको सुधारका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कामलाई थप प्रभावकारी बनाउँदै नियमित रूपमा मन्त्रालयमा त्रैमासिक प्रतिवेदन बुझाउनुपर्ने साथै प्रदेशभरिका समग्र सहकारीहरूको अनुगमन तथा नियमनलाई चुस्त बनाउने र कुनै पनि संस्थालाई समस्याग्रस्त घोषणा गर्नुपूर्व वस्तुगत आधार र प्रमाण यकिन गरेर मात्र सिफारिस गर्ने निर्णय समेत गरिएको पुरीले बताउनुभयो । 

बैठकमा बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी (पौडेल), सहकारी मन्त्रालयका सचिव महेश भट्टराई, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्यहरू, सहकारी रजिस्ट्रार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button