तपाईँ सुन्दै हुनुहुन्छः

खजुराका कृषकलाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाले एकीकृत शत्रु जीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालामा आबद्ध कृषकहरूलाई ६० प्रतिशत लागत साझेदारी अनुदानमा करिब २८ लाख रुपैयाँ बराबरका कृषि सामग्री वितरण गरेको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले १६ वटा आइपिएम कृषक पाठशालालाई कृषि सामग्री हस्तान्तरण गर्नुभएको हो । गाउँपालिकाले ६० प्रतिशत र कृषकले ४० प्रतिशत लागत साझेदारी गर्ने गरी आवश्यक कृषि सामग्री उपलब्ध गराइएको जनाएको छ ।

सामग्री हस्तान्तरण गर्दै अध्यक्ष विकले खजुरालाई अर्ग्यानिक कृषि उत्पादनको नमुना क्षेत्रका रूपमा विकास गर्ने गाउँपालिकाको लक्ष्य रहेको बताउनुभयो । उहाँले कृषकले उत्पादन गरेका कृषि उपजको बजारीकरणलाई प्राथमिकतामा राख्दै बजारसम्म सहज पहुँच सुनिश्चित गर्न कृषि एम्बुलेन्स सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कृषि शाखा प्रमुख भगवती खड्का घर्ती मगरका अनुसार गाउँपालिकाको ६० प्रतिशत र कृषकको ४० प्रतिशत लागत साझेदारीमा कृषि सामग्री वितरण गरिएको हो । उहाँका अनुसार खजुरामा सञ्चालन भएका ६ वटा पुराना र ६ वटा नयाँ आइपिएम कृषक पाठशालामा चार महिने तालिम सञ्चालन गरिएको थियो । तालिम सम्पन्न गरेका कृषकलाई उत्पादन वृद्धि तथा व्यावसायिक खेती विस्तारका लागि कृषि सामग्री उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । 

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले तालिमबाट सिकेका प्रविधिलाई व्यवहारमा लागू गर्न तथा कृषकलाई थप उत्पादनशील बनाउन कृषि सामग्री वितरण गरिएको बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले उपलब्ध गराइएका कृषि सामग्रीको प्रभावकारी सदुपयोग गर्न कृषकहरूलाई आग्रह गर्नुभयो । उहाँले कृषि उत्पादन वृद्धि, अर्ग्यानिक खेती प्रवर्द्धन तथा उत्पादित वस्तुको बजारीकरणका लागि गाउँपालिकाले कृषकसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कृषि शाखाका अनुसार आइपिएम (एकीकृत शत्रु जीव व्यवस्थापन) खेतीपातीमा रासायनिक विषादीको प्रयोगलाई शून्य वा न्यूनतम स्तरमा सीमित गर्दै वातावरणमैत्री र वैज्ञानिक ढंगले बाली संरक्षण गर्ने पद्धति हो । यसले माटोको उर्वराशक्ति संरक्षण गर्नुका साथै उपभोक्तालाई सुरक्षित तथा स्वास्थ्यकर खाद्यान्न उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने शाखाको भनाइ छ । गाउँपालिकाले खजुरालाई अर्ग्यानिक कृषि उत्पादनको केन्द्र (अर्ग्यानिक हब) बनाउने लक्ष्यसहित आइपिएम प्रविधिलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्दै आएको जनाएको छ । अध्यक्ष विकका अनुसार विषादीरहित प्राङ्गारिक खेतीको विस्तारले माटोको गुणस्तर सुधार्नुका साथै उपभोक्तालाई विषादीयुक्त खाद्यान्नबाट हुने स्वास्थ्य जोखिम न्यूनीकरण गर्न सहयोग पुग्नेछ । उहाँले अर्ग्यानिक कृषि उत्पादनको बजारमा उच्च माग र राम्रो मूल्य रहेकाले यसबाट खजुराका कृषकको आम्दानी वृद्धि भई आर्थिक जीवनस्तरमा समेत सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button