तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा २१औँ रोपाइँ महोत्सव सम्पन्न

पोखरा । “कृषिको सम्मान गरौँ, संस्कृति जोगाऔँ र पर्यटन प्रवर्द्धनमार्फत समृद्ध पोखरा निर्माण गरौँ, पोखरा सबै मौसमका लागि” भन्ने मूल नारासहित पोखरा महानगरपालिका–३० शिशुवामा २१औँ रोपाइँ महोत्सव–२०८३ भव्य रूपमा सम्पन्न भएको छ ।

पोखरा पर्यटन परिषद्को मुख्य आयोजना तथा वडा स्तरीय कृषि सञ्जालको स्थानीय व्यवस्थापनमा देउराली खोलाछेउको फाँटमा आयोजित महोत्सवले कृषि, संस्कृति, पर्यटन र सामुदायिक एकताको सन्देश प्रवाह गरेको छ। नेपाली समाजको मौलिक कृषि संस्कृतिलाई जगेर्ना गर्दै कृषिलाई पर्यटनसँग जोड्ने उद्देश्यले आयोजित महोत्सवमा स्थानीय कृषक, जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विदेशी पर्यटक, विद्यार्थी, युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भूमिपूजन तथा धान रोपाइँ गरेर गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख आचार्यले नेपाल कृषि प्रधान देश भए पनि खेतीयोग्य जमिन बाँझो रहनु चिन्ताको विषय भएको बताए। उनले सरकारले उपलब्ध गराउँदै आएका कृषि अनुदान, प्रविधि र सहुलियत कार्यक्रमहरूको प्रभावकारी उपयोग गर्दै उत्पादन वृद्धि गर्न कृषकहरूलाई आग्रह गरे।

“हाम्रो मौलिक संस्कृति, परम्परा र कृषि जीवनशैलीलाई संरक्षण गर्दै कृषिमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यो महोत्सव दुई दशकभन्दा बढी समयदेखि निरन्तर सञ्चालन हुँदै आएको छ,” उनले भने, “यसले पोखराको पर्यटन प्रवद्र्धन मात्र होइन, कृषि पेशाप्रति सम्मान र आकर्षण समेत बढाएको छ।”

आचार्यले महानगरपालिकाले वडा स्तरीय कृषि सञ्जालसँग सहकार्य गरेर कृषकलाई मल, बीउ, कृषि उपकरण तथा विभिन्न प्राविधिक सेवाहरू उपलब्ध गराउँदै आएको जानकारी दिए। कृषि उत्पादन वृद्धि र आत्मनिर्भरता हासिल गर्न महानगरले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो।

कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले जलवायु परिवर्तनको प्रभावका कारण धान उत्पादनमा क्रमिक कमी आउँदै गएको र यसले खाद्य सुरक्षामा चुनौती थपेको बताए। उनले परम्परागत स्थानीय जातका धान संरक्षण र प्रवद्र्धनमा जोड दिँदै पोखरामा ‘जेठोबुढो’ र ‘पोर्खेली’ धानको सफल ब्रान्डिङ भइसकेको जानकारी दिए।

“हामीले स्थानीय उत्पादनको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकता दिएका छौँ। कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउँदै कृषकको आय वृद्धि गर्ने दिशामा महानगरपालिका निरन्तर सक्रिय छ,” कडरियाले बताए ।

पोखरा महानगरपालिका–३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले कृषि नेपाली समाजको जीवनशैली, धर्म, संस्कृति र चाडपर्वसँग अभिन्न रूपमा जोडिएको बताए। कृषकलाई सम्मान गर्नु स्थानीय सरकारको कर्तव्य भएको उल्लेख गर्दै उनले कृषि पेशालाई मर्यादित र आकर्षक बनाउन सबै पक्षले सहयोग गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का संस्थापक अध्यक्ष डम्बरबहादुर केसी, लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुली तथा वडा नं. ३० कृषि सञ्जालका अध्यक्ष आनन्द कँडेललगायत वक्ताहरूले कृषि र पर्यटन एकअर्काका परिपूरक क्षेत्र भएको उल्लेख गरे। उनीहरूले कृषिलाई दिगो व्यवस्थापन गर्दै कृषि पर्यटनको अवधारणालाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।

महोत्सवमा सहभागीहरूले परम्परागत शैलीमा धान रोपाइँ गर्दै नेपाली ग्रामीण जीवनशैलीको अनुभव लिएका थिए। हिलोमा माछा समाउने प्रतियोगिता, हिले दौड, रोपाइँ प्रतियोगिता, फुटबल प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम महोत्सवका मुख्य आकर्षण बनेका थिए। कलाकारहरूको साङ्गीतिक प्रस्तुति तथा स्थानीय संस्कृतिको झल्को दिने कार्यक्रमले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो।

कार्यक्रमका अवसरमा कृषि क्षेत्रमा योगदान पुर्‍याउने कृषकका साथै पर्यटकहरूलाई समेत सम्मान समेत गरिएको थियो। प्रमुख अतिथि आचार्यले सम्मानित कृषकहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको मेहनत, समर्पण र योगदानले कृषि उत्पादन, स्थानीय अर्थतन्त्र तथा खाद्य सुरक्षालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले महोत्सवलाई विगत २१ वर्षदेखि निरन्तरता दिँदै आएका पोखरा पर्यटन परिषद्, वडा नं. ३०, कृषि सञ्जाल तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सङ्घसंस्था र व्यक्तित्वप्रति धन्यवाद व्यक्त गरे।

स्थानीयस्तरमा कृषि उत्पादनको महत्व उजागर गर्दै कृषि, संस्कृति र पर्यटनबीचको अन्तरसम्बन्धलाई बलियो बनाउने उद्देश्यले आयोजित रोपाइँ महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याएको आयोजकको विश्वास छ ।

कार्यक्रमको सञ्चालन पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button