विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री डा.वाग्लेले शिक्षा क्षेत्रमा गरिब वर्गको पहुँच सहज बढाउने, दलित र गरिबीको रेखामुनि रहेका बालबालिकालाई पौष्टिक आहार उपलब्ध गराउने तथा बिजुली क्षेत्रको प्रवद्र्धनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।
अर्थमन्त्री डा.वाग्लेले अर्थतन्त्रलाई थप औपचारिक बनाउन आयकर र मूल्य अभिवृद्धि करमा सुधार गरी अर्थतन्त्रलाई चलायमान बनाउने, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने तथा उद्योगमैत्री र निजी क्षेत्रमैत्री बनाइ कर प्रणालीका विकृति हटाउने व्यवस्था गरिएको बताउनुभयो ।
प्रस्ताव माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले बजेटले मध्यम वर्ग र गरिब नागरिकका आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताउनुहुँदै स्थानीय तथा प्रदेश सरकारलाई गरिने वित्तीय हस्तान्तरणसम्बन्धी व्यवस्थामा थप स्पष्टता तथा बढ्दो महँगी नियन्त्रणतर्फ ध्यान केन्द्रित गनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रियसभाको अर्को बैठक असार १७ गते बुधबार अपराह्न १ः१५ बजे बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्