तपाईँ सुन्दै हुनुहुन्छः

 चितवनमा पांँच प्रतिशत धान रोपाईं

चितवन । आज राष्ट्रिय धान दिवस । चितवनका सातै पालिकाले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन ।

रोपाइँसम्बन्धी विशेष कार्यक्रम गरी राष्ट्रिय धान दिवस चितवनका सातै पालिकामा मनाइएको कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले जानकारी दिनुभयो ।

उहांँका अनुसार चितवन जिल्लाभर असार १४ गतेसम्म मुस्किलले पाँच प्रतिशतमात्र रोपाइँ भएको छ । “रोपाइँ हुने गरी पानी परेको छैन, सबै ठाउँमा सिंचाइ पुगेको छैन” प्रमुख कँडेलले भन्नुभयो । पूर्बी चितवनका केही क्षेत्रमा मात्र रोपाइँ सुरू भएको उहांँले बताउनुभयो ।

“विगतका वर्षमा असार १५ सम्म १० प्रतिशत रोपाइँ भइसकेको थियो, अहिले रोपाइँ बल्ल सुरु हुन थालेको छ , खेतहरु बल्ल भिज्न थालेका छन”, कँडेलले भन्नुभयो, “पानी नपरेका कारण रोपाइँ ढिलो सुरू भएको छ, यद्यपी निक्कै ढिलो भइसकेको छैन, बीउहरु तयार हुँदैछन् ।” आज धान दिवस भएका कारण केही प्रतिशत रोपाईं बढ्ने उहांँको भनाई छ ।

अत्यधिक गर्मी र आकासे पानी पर्याप्त नपरेका कारण असार पन्ध्रसम्म आइपुग्दा पनि धमाधम रोपाइँ हुन नसकेको रत्ननगर नगरपालिकाका कृषि विकास अधिकृत प्रविन लामाले बताउनुभयो । रत्ननगरका १६ वटा वडा रहेको रत्ननगरमा अहिलेसम्म ५ वटा वडामा मात्र आंशिकरुपमा रोपाइँ सुरू भएको उहांँको भनाइ छ ।

गाउँघरमा अर्मपर्म गरेर धान रोप्ने चलन हराइसकेको छ । रोपाहार नपाएर पनि समयमै रोपाइँ सुरू हुन नसकेको हो । बछौलीकी किसान जानुका सुवेदीले रोपाहार नपाएर खेत रोप्न नपाएको बताउनु हुन्छ । “आकासे पानी परेन, गर्मीका कारण मधेशबाट रोपाहार आएका छैनन्”, उहांँले भन्नुभयो “गाउँमा कसैले पनि धान रोपेका छैनन् ।”

रत्ननगरमा स्थानीय सरकार, कृषि सहकारी र विभिन्न संघसंस्थाले रोपाइँ विशेष कार्यक्रमको आयोजना गरी राष्ट्रिय धान दिवस मनाउने तयारी गरेको कृषि विकास अधिकृत लामाले बताउनुभयो । धानको उत्पादन वृद्धिका लागि उपकरण खरिदमा किसानलाई ५० देखि ८० प्रतिशतसम्म अनुदान दिएको उहांँको भनाइ छ ।

कृषि कार्यालयका अनुसार जिल्लामा कुल खेतीयोग्य जमिन ४८ हजार ६९४ हेक्टर रहेको छ । त्यसमध्ये बर्खे धान लगाउने जमिन २७ हजार २०७ हेक्टर रहेको छ ।

जिल्लामा खेतीयोग्य जमिनको ६१.८ प्रतिशत अर्थात् करिब ३० हजार हेक्टर क्षेत्रफलमा सिंचाइ पुगेको कार्यालयको तथ्याङ्क छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button