तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व उपप्रधानमन्त्री पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्व अर्थमन्त्री पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो ।

विशेष अदालतले यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी  मुद्दामा सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । आदेशमा भनिएको छ, “सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि पेस भएकोमा आज दोस्रो पटक तीन दिन म्याद थप भएको छ ।”

नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका पौडेललाई यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर आज अदालत उपस्थित गराइएको हो । उहाँलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button