‘स्वतन्त्र, निष्पक्ष तथा मर्यादित पत्रकारिता आजको आवश्यकता’

जनकपुरधाम । मधेश प्रदेशकाे गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले स्वतन्त्र, निष्पक्ष, जिम्मेवार तथा व्यावसायिक पत्रकारिताले लोकतन्त्र बलियो हुने बताउनुभएको छ ।
सञ्चार मन्त्रालयकाे आयोजनामा मधेश प्रदेशका गोरखापत्र दैनिकका समाचारदाताहरूको लागि धनुषाको मिथिला विहारी नगरपालिकामा आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रममा मन्त्री महतोले स्वतन्त्र पत्रकारिताले लोकतन्त्र बलियो हुने भएकाले प्रदेश सरकारले नेपालको पत्रकारिता क्षेत्रमा लामो इतिहास बोकेका गोरखापत्रका पत्रकारहरूका लागि प्रशिक्षणको आयोजना गरेको बताउनुभयो ।
उहाँले समाजमा अहिले बढेका विकृति तथा विसङ्गतिको अन्त्य गरि शान्ति, सद्भाव, सहअस्तित्व र विकासको वातावरण निर्माणमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेतले गोरखापत्र दैनिकले नेपालको पत्रकारिता क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेको बताउँदै गोरखापत्रले सरकार र जनता बीचको पुलको रुपमा समाचार सम्प्रेषण गर्दै आएको बताउनुभयो ।
मधेश प्रदेशका आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्काले नेपालको पत्रकारितामा गोरखापत्र दैनिकको ठूलो योगदान भएको बताउँदै अहिले पनि यो पत्रिकाको समाचार आधिकारी तथा सन्तुलित हुने गरेको बताउनुभयो ।
गोरखापत्र दैनिकमा कार्यरत मधेश प्रदेशका दुई दर्जन समाचारदाताहरू सहभागी दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटनमा द राइजिङ्ग नेपालका प्रधान सम्पादक रमेश लम्साल, गोरखापत्रका कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्र, गोरखापत्र अनलाइनका सम्पादक लक्की चौधरी, मिडिया काउन्सिलका कार्यालय प्रमुख ओम विक्रम कटुवाल र गोरखापत्र मधेश प्रदेशका संयोजक धर्वेन्द्र झाले धारणा राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्