तपाईँ सुन्दै हुनुहुन्छः

मधुश्रावणी पर्वका कारण मिथिलाका गाउँहरूमा विशेष रौनकता

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा विवाहिता महिलाहरूले १३ दिनसम्म श्रीमान्को दीर्घायुको कामना सहित मनाउने मधुश्रावणी पर्व शुरु भएपछि मिथिलाका गाउँहरू संस्कृतिक गीतले गुञ्जायमान बनेको छ ।

खास गरेर नव विवाहिता कन्याहरूले श्रीमान्को सु स्वास्थ्यको तथा दीर्घायुको कामना सहित मनाइने मधुश्रावणी पर्व शुरु भएपछि मिथिलाका गाउँहरूमा मैथिली गीतका स्वरले गुञ्जायमान बनेको छ । अहिले गाउँ गाउँमा कन्याहरु झुन्डमा हिँड्ने गरेका हुन्छन् ।

साउन महिनाको पञ्चमी तिथि अर्थात् साउन १८ गतेबाट शुरु भएको मधुश्रावणी पर्व गर्ने नव विवाहिता कन्याहरूले प्रत्येक दिनको साँझको समयमा समूहमा भेला भएर मधुश्रावणी सम्बन्धि गीतहरू गाउँदै घर नजिकको रहेको मठ मन्दिर तथा फूलबारीहरूमा पुगेर विभिन्न प्रकारका रङ्गीचङ्गी फूल टिपी सोही फुलबाट बिहानको समयमा गौरी तथा पार्वती सहित नाग देवताको पूजा गर्ने चलन रहेको छ । साथै पूजापछि मधुश्रावणी सम्बन्धि कथा सुन्ने चलन पनि रहेको छ ।

यस पर्वमा नव विवाहिता कन्याले ससुराली पक्षबाट आएको खाद्यान्न तथा नयाँ लुगा र शृङ्गारका सामानहरू लगाउने चलन रहेको छ । प्रत्येक दिनको साँझको समयमा नव विवाहिता कन्याहरूले रातो, हरियो तथा पहेलो साडी, सुनको गरगहना तथा रङ्गीचङ्गी चुरा र पोते लगाएर समूहमा भेला भई सामूहिक गीत गाउने भएकाले १३ दिनसम्म मिथिलाका गाउँहरूमा विशेष रौनकता रहने गरेको छ ।

मधेश प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा तथा पर्सा जिल्लामा बसोबास गर्ने मैथिल बाहुन, कायस्थ, सोनार तथा लोहार जातिमा यो पर्व मनाउने प्रचलन रहेको छ । मधुश्रावणी पर्व गर्नाले श्रीमान्सँगको आत्मीय सम्बन्धलाई अझै प्रगाढ बनाउने जनविश्वास रहेको छ ।

१३ दिनसम्म मनाउने यस पर्वको अन्तिम दिनमा विशेष पूजापाठ सहितका विभिन्न कार्यक्रम सहित समापन गर्ने प्रचलन रहेको छ ।  अन्तिम दिनको पूजामा श्रीमान्सँगै नवविवाहिता कन्याले बस्नु पर्ने मान्यता रहेको छ । यस दिन ससुरालीबाट आएका प्रसाद सामाग्रीहरू चढाउनुका साथै कोसेलीहरू वितरण गर्ने चलन रहेको छ ।

खास गरेर मधुश्रावणीको समापनमा प्रयोग हुने चना, मिष्ठान्न, फलफूल सहितका प्रसाद सामाग्रीहरू वितरण गर्नुका साथै कोसेली स्वरूप इष्टमित्र तथा आफन्तजनहरूलाई वितरण गर्ने चलन रहेको छ । मधुश्रावणी पर्व प्रत्येक वर्ष साउन महिनामा मनाउने भएकाले यसलाई मधुमास पनि भन्ने चलन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button