तपाईँ सुन्दै हुनुहुन्छः

यार्सागुम्बा संकलन खुला, मुगुमा राजस्व २८ लाख नाघ्यो

मुगु। मुगुको मुगुम कार्मारोङ गाउँपालिकाले बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि वन प्रवेश खुला गरेसँगै यस वर्ष हालसम्म २८ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

गाउँपालिकाले जेठ १३ गतेदेखि असार १३ गतेसम्म यार्सागुम्बा संकलनका लागि अनुमति दिएको हो। गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार संकलनकर्ताका लागि आवश्यक ‘छोडपुर्जी’ वितरण कार्य जारी रहेको छ।

जिल्लाबाहिरका संकलनकर्ताका लागि प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ र जिल्लाभित्रका लागि २ हजार रुपैयाँ वन प्रवेश शुल्क निर्धारण गरिएको छ। हालसम्म सोही छोडपुर्जी वितरणबाट उक्त राजस्व संकलन भएको र संकलन जारी रहेकाले रकम अझै बढ्न सक्ने अनुमान गरिएको छ।

गाउँपालिकाका अनुसार छापाखोला, रिमार, तल्लो कुईकी, माथिल्लो कुईकी, छुगोल्डुङ, हाङ्दाङखोला र माजिङथानलगायत उच्च हिमाली पाटन यार्सागुम्बा पाइने प्रमुख क्षेत्र हुन्। यिनै पाटनमा हरेक वर्ष मुगु, हुम्ला, जुम्ला, कालिकोट, जाजरकोट र सुर्खेतलगायत जिल्लाबाट ठूलो संख्यामा संकलनकर्ता पुग्ने गरेका छन्।

यार्सागुम्बा संकलन सुरु भएसँगै हिमाली बस्ती तथा पाटन क्षेत्रमा चहलपहल बढेको स्थानीयले बताएका छन्। गाउँपालिकाले छोडपुर्जी प्रणालीमार्फत अनुमति वितरण गर्दै आएको छ भने संकलित राजस्व स्थानीय विकास तथा व्यवस्थापन कार्यमा प्रयोग गरिने जनाएको छ।

यस वर्ष प्रारम्भिक चरणमै २८ लाख ३० हजार रुपैयाँ राजस्व संकलन हुनु यार्सा संकलनप्रतिको आकर्षण र यसको आर्थिक महत्वको संकेत भएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button