थाइल्यान्डमा भएको ड्रोन आक्रमणमा म्यानमाका तीन जना आप्रवासीको मृत्यु
बैङ्कक। म्यानमाको गृहयुद्धमा प्रयोग गरिएको ड्रोन छिमेकी मुलुक थाइल्यान्डमा विस्फोट हुँदा तीन जना म्यानमाका आप्रवासीको मृत्यु हुनुका साथै दुई जना घाइते भएको थाई प्रहरीले बुधबार जनाएको छ ।
थाई अधिकारी म्यानमाको करेन राज्यको विपरीत टाक प्रान्तमा विस्फोट भएको खबर प्राप्त भएपछि घटना स्थलमा पुगेको स्थानीय प्रहरी प्रमुख अनुसोर्न डुङ्कोङलाई उदृत गर्दै एएफपीले बताएको छ । आक्रमणमा तीन जनाको मृत्यु भएको छ, तिनीहरू सबै म्यानमाका आप्रवासी कामदार रहेको प्रहरीले पुष्टि गरेको छ ।
दुई देशको सीमामा रहेको रूखमा ठोक्किएर ड्रोन विस्फोट हुँदा नजिकैको खेतमा काम गर्ने मजदुरको मृत्यु भएको अनुसोर्नले बताउनु भएको छ । आक्रमणमा घाइते भएका दुई जनालाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको उहाँले बताउनुभएको छ । सन् २०२१ को विद्रोहमा सेनाले सत्ता कब्जा गरे देखि म्यानमाका सशस्त्र सेना प्रजातन्त्र समर्थक गुरिल्ला र शक्तिशाली जातीय-अल्पसङ्ख्यक सशस्त्र समूहसँग लडिरहेका छन् ।
म्यानमाको सीमावर्ती क्षेत्रमा विभिन्न जातीय-अल्पसङ्ख्यक गुटको बसोवास स्थल हो, जस मध्ये धेरैले सन् १९४८ मा बेलायतबाट देश स्वतन्त्रता भए देखि स्वायत्तता र आकर्षक प्राकृतिक स्रोतको नियन्त्रणका लागि सेनासँग लडिरहेका छन् । सैन्य र जातीय सेना दुवैले युद्धमा ड्रोन प्रयोग गर्ने गरेको उल्लेख गर्दै थाई क्षेत्रमा विस्फोट भएको उक्त ड्रोन कुन पक्षले प्रक्षेपण गरेको थियो भन्ने बारे अझै स्पष्ट नभएको जनाएका छन् ।
विद्रोही गुटले राज्यको धेरै भाग नियन्त्रणमा राखेका छन् भने मङ्गलबार सेनासँग भएकोे लडाइँले म्यानमाका धेरै मानिसलाई सीमा पार गरेर थाइल्यान्डमा पलायन गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रासस/एएफपी







प्रतिक्रिया राख्नुहोस्