विभेदकारी गाउँहरूको नाम बदल्दै बैतडीका स्थानीय तह
'अपमानजनक नाम हटाएर राखियो ‘सिर्जना टोल’

बैतडी । जिल्लाको पाटन नगरपालिका–५ मा रहेको डिम्यौडा टोलको नाम अहिले परिवर्तन गर्दै सिर्जना टोल राखिएको छ ।
दलित समुदायको बसोबास रहेको उक्त गाउँलाई अपहेलित तवरले डिम्यौडा भन्ने गरिएकोले अहिले यस टोलको नाम परिवर्तन गर्दै सिर्जना टोल राखिएको वडा अध्यक्ष फुनि सिंह बोहराले बताउनुभयो ।
“दलित बस्तीको बसोबास रहेकाले त्यहाँ पहिलेका मानिसहरूले डिम्यौडा टोल भनेर राखेका थिए, हामीले अहिले सिर्जना टोल राखेका छौँ,” अध्यक्ष बोहराले भन्नुभयो, “दलित बस्तीका मानिसहरूले विभिन्न कलाकौशलबाट सर सामाग्रीको सिर्जना गर्ने भएकाले सिर्जना टोल राखेका हौँ,” ।
मुख्यतया दलित समुदायलाई लक्षित गर्दै अपहेलना हुनेगरी राखिएका नामहरूलाई सच्याउने काम गरिएको वडा अध्यक्ष बोहराले बताउनुभयो । जातीय रुपमा अपहेलित हुने गरी बस्तीका नामहरू रहेका गाउँको नाम परिवर्तन गरिएको जनाइएको छ ।

पाटन नगरपालिकाका उपप्रमुख कमल सिंह बोहराका अनुसार अपहेलित गाउँको नाम परिवर्तन गर्ने अभियान अन्तरगत हालसम्म २२ वटा गाउँहरूको नाम परिवर्तन गरिएको छ ।
जातियताका आधारमा अपहेलना हुने खालका गाउँ नामलाई परिवर्तन गरिएपछि केही सहज महसुस भएको स्थानीयहरूको भनाइ छ ।
“अहिले गाउँको नाम परिवर्तन गरिएका छन्, पहिले आफ्नो गाउँको नाम समेत सुन्दा असहज हुन्थ्यो, अहिले सहज महसुस भएको छ,” पाटन–६ का स्थानीय राजु भुलले भन्नुभयो ।
जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि अपमानित हुने नाम सच्याउने निर्णय गरेर कार्यान्वयनको चरणमा रहेको जनाएको छ । “स्थानीयहरूसँग समन्वय गर्दै गाउँहरूको नाम प्रस्ताव माग गर्दै छलफल अघि बढाएका छौँ, यसै वर्ष यहाँका धेरै गाउँको नाम परिवर्तन गर्दैछौँ,” गाउँपालिकाका प्रवक्ता दिनेश प्रसाद भट्टले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्