मधेश प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरु
जनकपुरधाम । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ल्याएको नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल शुरु भएको छ ।
मधेश प्रदेशसभामा प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले ज्येष्ठ १५ गते प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आजदेखि छलफल शुरु भएको हो ।
सभामा प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता एवं पूर्वमुख्यमन्त्री एवम् संशोधनकर्ता लालबाबु राउतले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा धेरै विषय समेट्न खोजिएकाले बुझ्न कठिन भएको बताउनुभयो ।
उहाँले नीति तथा कार्यक्रममा सङ्घीयतालाई सबल बनाउने पक्षमा ठोस् विषय वस्तु समावेश नभएकोमा दुःख व्यक्त गर्नुभयो ।
उहाँले सङ्घीयता कार्यान्वयन गर्ने सन्दर्भमा केही लाइन होला सोचेको थिएँ तर यो नीति तथा कार्यक्रममा प्रहरी प्रशासन प्रदेश मातहत ल्याउन प्रयास गर्नेछौँ र त्यसका लागि लडाइँ लड्ने छौँ भन्ने कुरा उल्लेख हुनुपर्ने थियो तर नदेखिएको बताउनुभयो ।
जसपा नेपालकै प्रदेशसभा सदस्य अनुरुद्ध कुमार सिंहले हरेक वर्ष आन्दोलनहरूमा घाइतेको स्वास्थ्य लाभको कामना गर्ने गरेको भएपनि उहाँहरूको अवस्था के छ त्यसबारेमा नीति तथा कार्यक्रम केही नबोलेको बताउनुभयो ।
उहाँले नीति तथा कार्यक्रममा शिक्षकको तालिमको व्यवस्थाको कुरा उल्लेख गरिएको भन्दै पहिला शिक्षक अभाव रहेकाले दरबन्दीअनुसारको भर्ना गर्नुपर्ने बताउनुभयो ।
जनमत पार्टीका प्रदेशसभा सदस्य शम्भुकुमार साहले प्रदेशमा ६४ वटा निर्वाचन क्षेत्र रहेकाले सबै क्षेत्रमा समान किसिमले व्यवहार गर्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री, अर्थमन्त्री, दलका नेताहरू आ–आफ्नो क्षेत्रमा मात्र बजेट लैजाने गरेकोले यो वर्ष समान अनुपातमा बजेट दिनुपर्ने जोड दिनुभयो ।
अर्का संशोधनकर्ता प्रमोद कुमार यादवले सिरहा र धनुषाको बीचमा रहेको कमला नदीको पुल भासिएकोले करिब १२ लाख जनताले सास्ती भोगिरहेको बताउँदै पुल निर्माणका लागि मधेस सरकारले चार बुँदे सम्झौता गरेकाले पुल निर्माण सुनिश्चितता गर्न सरकारलाई आग्रह गर्नुभयो ।
संशोधन कर्ता प्रमोदकुमार जैसवालले २७ पृष्ठको नीति तथा कार्यक्रममा केही राम्रो कुरा पनि रहेको तर नयाँ नारा दिने नाममा पुरानो राम्रो कुरालाई छोड्ने गरेको टिप्पणी गर्दै विगतका राम्रा कुराहरू समावेश गर्न माग गर्नुभयो ।
छलफलमा भाग लिँदै नेकपा एमालेका उपनेता दिपेन्द्र ठाकुरले गुठी जग्गा अतिक्रमणको नाममा खरिद गरेर बसोबास गरिरहेका गरिबलाई दुःख दिन नमिल्ने बताउँदै देशमा हजारौँ हजार विगाह वन तथा ऐलानी जग्गा मिच्नेलाई लालपूर्जा दिने काम भएको बताउनुभयो ।
उहाँले जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि प्रदेश सरकारसँग माग गर्नुभयो ।
नीति तथा कार्यक्रम माथिको छलफल नसकिएकाले भोली बस्ने गरी आजको बैठक स्थगित भएको छ ।








प्रतिक्रिया राख्नुहोस्