तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शाहको अभिव्यक्तिको विरोध गर्दै राष्ट्रिय सभाको बैठक स्थगित 

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले आइतबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको अभिव्यक्तिको विरोध जारी राखेपछि राष्ट्रिय सभाको आजको बैठक स्थगित भएको छ ।

बैठकमा सांसदहरुले नेपालले पनि भारतको सीमा मिचेको छ भनी प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको भन्दै सच्याउन माग गर्नुभयो ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न माध्यबाट प्रधानमन्त्री शाहको ध्यानाकर्षण गरी यस समस्याको हल गरिने भन्दै सभाको सञ्चालनलाई निरन्तरता दिई आ–आफ्नो दायित्व पूरा गर्न सांसदहरूलाई अनुरोध गर्नुभयो ।

अध्यक्ष दाहालले सांसदहरूलाई राष्ट्रिय सभाले देशको राजनीतिक क्षेत्रको अभिभावकीय भूमिका निर्वाह गर्ने भएकोले यस्तो संवेदनशील राजनीतिक परिस्थितिमा सङ्कटको समाधान खोज्न सभाको छलफललाई निरन्तरता दिन अझै बढी आवश्यक रहेको समेत बताउनुभयो । 

सांसदहरुले प्रधानमन्त्रीले प्रतिनिधि सभामा दिनुभएको अभिव्यक्ति सच्याउन माग गर्दै विरोध जारी राखेपछि अध्यक्ष दाहालले सभाको दोस्रो पटक बसेको बैठक पनि स्थगित गर्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक जेठ १९ गते मङ्गलवार १ः१५ मा बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button