तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा: गरिब, किसान, मजदुर र सुकुम्वासीका समस्याप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण 

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले तराईमा रहेको खानेपानी समस्या, कर्णालीमा भइरहेको विद्युत् आपूर्तिको समस्या, जेनजी आन्दोलनका विषयमा आएको मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरुले मधेशमा खानेपानीको समस्या विकराल बन्दै गएको तथा ४ सय फिट खन्दा मात्रै पानी आउने हुँदा आर्थिक अवस्था लगायतका कारण आम मानिसले पानी खान पाउने अवस्था नरहेको बताउनुभयो । 

सांसदहरुले बजेटले उद्योग सञ्चालनका लगायतका विषय समेट्न नसकेको भन्दै रोजगारीको सिर्जना गरी गरिब, किसान, मजदुर र सुकुम्वासीका समस्या हल गर्ने विषय बजेटमा नआएको बताउनुभयो ।  

कर्णालीमा सहज रुपमा विद्युत् आपूर्ति तथा कम भोल्टेजका विद्युत् आपूर्तिका कारण त्यहाँका जनताले असहजता खेप्नुपरिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै विद्युतको सहज आपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसदहरुले सुकुम्बासीको समस्या समाधानमा सरकारको ध्यान जानुपर्ने, जेनजी आन्दोलनका विषयमा आएको मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नु पर्ने तथा सभामा सांसदहरुले उठाएका विषयमा सरकारले जवाफ दिनुपर्ने भन्दै सभा र सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button