सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले भूमिहीन, सुकुम्बासीको व्यवस्थापनमा सरकार चुकेको बताउनुभएको छ ।
नेपाली काँग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा बाहिरबाट हेर्दा खोला किनारको अव्यवस्थित बस्ती देखिए पनि नागरिकका लागि सबै थोक त्यहीँ भएको बताउनुभयो ।
सभापति थापाले सुकुम्बासीको समस्या हल गर्न नेपालको संविधानमा आवासको हक सुनिश्चित गरिएको र कानुन अनुसार सुकुम्बासीको व्यवस्थापन गर्नुपर्नेमा सरकारले हठात्मा उठाउने काम गरेको उल्लेख गर्नुभयो ।
खोलाको छेउमा कुनै सुकुम्बासी रहरले नभई बाध्यताले बसेकाले मानवीय समवेदनामा ध्यान दिनुपर्ने भन्दै सभापति थापाले भूमिहीन, सुकुम्बासीलाई व्यवस्थित योजना बनाएर सार्नुपर्नेमा राति सुतेका सुकुम्बासीका टहरा बिहान उठ्दा डोजर लगेर भत्काउनु अमानवीय कार्य भएको बताउनुभयो ।
उहाँले सरकारले गरिबीका विरुद्ध काम गर्नुपर्नेमा गरिबका विरुद्धमा काम गरेको टिप्पणी गर्दै सफाइ वा व्यवस्थापनको नाममा नागरिकलाई घरबारविहीन बनाउनु उपयुक्त नहुने धारणा राख्नुभयो ।
सभापति थापाले प्रतिपक्षको भूमिकाबाट सरकारलाई सचेत गराउनु र सही दिशा देखाउनु आफ्नो दायित्व भएको बताउँदै बसोबास असुरक्षित हुँदा, बालबालिकाको शिक्षा र दैनिकी अनिश्चित बन्दा प्रभावित परिवारमा तनाव, चिन्ता र निरुत्साहजस्ता मानसिक समस्या बढ्दै गएको पनि उल्लेख गर्नभयो ।








प्रतिक्रिया राख्नुहोस्