सुर्खेतमा महिला क्रिकेट प्रतियोगिता हुँदै
सुर्खेत । सुर्खेतमा पहिलो पटक राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता हुन लागेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा यहीँ जेठ २२ गतेदेखि हुने राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता प्रदेशमै पहिलो पटक हुन लागेको हो ।

सन् २०२७ मा नेपाल–बङ्गलादेशले संयुक्तरुपमा आयोजना गर्न लागेको आइसिसी यू–१९ महिला विश्वकपका लागि नेपाली टोलीको छनोट खेलका रुपमा यो प्रतियोगिता सञ्चालन हुन लागेको छ ।
कर्णाली प्रदेश क्रिकेट संघका सचिव श्रीधर केसीका अनुसार यहीँ जेठ २२ गतेदेखि असार १ गतेसम्म सञ्चालन हुने यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा देशका ७ वटै प्रदेशका टोलीहरूले सहभागिता जनाउने छन् ।
प्रतियोगिता नजिकिएसँगै कर्णाली प्रदेशको टोली अहिले बन्द प्रशिक्षणमा छ । घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ कर्णालीको टोलीलाई प्राविधिक तथा शारीरिक रुपमा सबल बनाउन विशेष प्रशिक्षण दिई राखेको सङ्घले जनाएको छ ।
कर्णालीको इतिहासमा यो दोस्रो राष्ट्रिय प्रतियोगिता भएको र महिला क्रिकेटको इतिहासमा भने यो नै पहिलो राष्ट्रिय खेल भएको संघका सचिव श्रीधर केसीले बताउनुभयो । कर्णालीले गत वर्ष पहिलोपटक पुरुषतर्फको राष्ट्रिय क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्