डोल्पामा हावाहुरीले स्कुलको छाना उडाउँदा लाखौँको क्षति,बालबालिका चौरमा पढ्न बाध्य
डोल्पा। डोल्पाको ठुलिभेरी नगरपालिका–२, कुम्लीस्थित मनमा आधारभूत विद्यालयको छाना हावाहुरीले उडाउँदा लाखौँको क्षति भएको छ।

गत शुक्रबार राति करिब ९ बजे आएको विनाशकारी हुरीले विद्यालयको भवनको छाना उडाएपछि बालबालिकाहरू खुला चौरमा बसेर पढ्न बाध्य भएका छन्।
हुरीले विद्यालयको नयाँ दुई कोठे भवन र पुरानो एक कोठाको जस्तापाताको छाना उडाएर स्थानीय कृषकको स्याउ ब्याड ९बगैँचा० मा पुर्याएको छ। यसबाट विद्यालयको भौतिक पूर्वाधारमा क्षति पुग्नुका साथै कृषकका स्याउका बिरुवासमेत नष्ट भएका छन्। यस्तै, विद्यालयमा जडान गरिएको सोलार प्रणालीमा पनि क्षति पुगेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीका अनुसार हुरीका कारण अनुमानित ३ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ। ‘कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयको छाना नै हुरीले उडाएपछि अहिले बालबालिकालाई खुला चौरमा राख्नुपर्ने अवस्था आएको छ,’ अध्यक्ष भण्डारीले तत्काल मर्मतका लागि सरोकारवाला सबैसँग पहल गरिदिन अपील गर्दै भन्नुभयो।

विद्यार्थी सङ्ख्याको तुलनामा पहिले नै भवनको अभाव झेलिरहेको विद्यालयमा प्राकृतिक विपत्तिले झन् ठुलो संकट थपिदिएको प्रधानाध्यापक अम गुरुङले दुखेसो पोख्नुभयो । ‘बालबालिकालाई खुला चौरमा राखेर जसोतसो पढाउन त सुरु गरिएको छ, तर हावाहुरी र वर्षाको समयमा साना नानीबाबुहरूलाई बाहिर राख्नु निकै जोखिमपूर्ण हुन्छ। सरोकारवाला निकायले तत्काल मर्मतमा ध्यान दिनु जरुरी छ .’ प्रअ गुरुङले भन्नुभयो।
घटनापछि जिल्ला प्रहरी कार्यालयको टोलीले घटनास्थल पुगेर मुचुल्का तयार पारेको छ। प्रहरीको प्रारम्भिक प्रतिवेदन अनुसार रातिको समयमा घटना भएकाले मानवीय क्षति भने हुन पाएन।
यसैबीच, ठुलिभेरी नगरपालिका–२ का वडा अध्यक्ष कमलबहादुर क्षेत्रीले प्राकृतिक विपत्तिका कारण विद्यालयमा गम्भीर क्षति पुगेको भन्दै तत्कालका लागि वडाको विपद् कोषबाट पाल ९त्रिपाल० को व्यवस्था गरेर भए पनि पठनपाठन सुचारु गरिने जानकारी दिनुभयो। वडा अध्यक्ष क्षेत्रीले भन्नुभयो, ‘हामीले नगरपालिका, सामाजिक विकास कार्यालय र जिल्ला प्रशासन कार्यालयमा मर्मत तथा सहयोगका लागि अनुरोध गरिसकेका छौँ। सकेसम्म चाँडो विद्यालयको पुनर्निर्माण गरी बालबालिकालाई कक्षाकोठामै पढ्ने वातावरण मिलाउने छौँ।’
शुक्रबार दिउँसो र राति चलेको तीव्र हावाहुरीका कारण डोल्पाका अन्य क्षेत्रमा पनि क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्