विद्यालय तहबाट नै खेलकुदको वातावरण बनाइनेछ: मन्त्री पोखरेल
जनकपुरधाम। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय तहबाट नै खेलकुदलाई प्रोत्साहन गर्न सरकारले खेलकुद शिक्षक राख्ने तयारी अगाडि बढाएको बताउनुभएको छ।

मन्त्री पोखरेलले जनकपुरधाम उपमहानगरपालिकाको वडा न-४ मा अवस्थित संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई विभिन्न प्रकारका खेलकुद सामाग्रीहरू आज वितरण गर्दै सो कुरा बताउनुभएको हो ।
उहाँले विद्यालयमा अध्ययनसँगै खेलकुदलाई समान महत्व दिनुपर्ने उल्लेख गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेल अपरिहार्य भएकाले खेलकुद सामाग्रीसँगै खेल पूर्वाधारको निर्माण तर्फ विद्यालयले ध्यान दिनु पर्ने धारणा राख्नुभयो ।

मन्त्री पोखरेलले विगतमा आफूले विद्यालयको भ्रमण गर्दा विद्यार्थीहरूले खेलकुद सामाग्री नभएको गुनासो गरेकाले थोरै भएपनि खेलकुदको सामाग्रीहरू विद्यार्थीहरूलाई उपलब्ध गराएको बताउनुभयो ।
उहाँले शिक्षा क्षेत्रमा संरचनागत सुधार, गुणस्तरीय शिक्षण सिकाइ, विद्यालय व्यवस्थापन, शिक्षक क्षमता विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

उहाँले देशभरका सामुदायिक विद्यालयमा खेलकुद गतिविधि विस्तार, आवश्यक सामग्री उपलब्ध गराउने, विद्यालय स्तरीय प्रतियोगिता सञ्चालन गर्ने तथा प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

उहाँले विद्यार्थीहरूको मन पर्ने खेलाडी र खेलको रुचिको आधारमा क्रिकेटको ब्याट, बल, भलिबल, फुटबल तथा ब्याडमिन्टनका विभिन्न सामाग्रीहरू वितरण गर्नुभयो ।
मन्त्री पोखरेलले केहीवेर छात्र तथा छात्राहरूसँग क्रिकेट खेल खेलेर खेलप्रति विद्यार्थीहरूलाई प्रोत्साहित गर्नुभएको थियो ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक सम्भु साह, विद्यालयका संस्थापक परिवारका सदस्य एवं जनकपुरधामका पूर्व नगरप्रमुख बजरंग प्रसाद साह, विद्यालयका शिक्षकहरूकाे सहभागीता रहेकाे थियाे।








प्रतिक्रिया राख्नुहोस्