तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिम नवलपरासीमा बारम्बार विद्युत् अवरुद्ध हुँदा समस्या

पश्चिम नवलपरासीमा बारम्बार विद्युत् अवरुद्ध हुँदा समस्या, सरकारी कार्यालयको सेवा समेत प्रभावित 

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा पछिल्ला केही दिनयता विद्युत् पटक–पटक जाँदा सर्वसाधारणदेखि सरकारी कार्यालयसम्म प्रभावित बनेका छन् । 

विशेषगरी तराई क्षेत्रमा बढ्दो अत्याधिक गर्मीका बीच अनियमित विद्युत् आपूर्तिका कारण नागरिकले सास्ती खेप्नुपरेको छ।

जिल्लाको बर्दघाट, सुनवल, रामग्रामलगायत विभिन्न क्षेत्रमा दिनभर नै विद्युत् आउने–जाने क्रम चलिरहँदा दैनिक जनजीवन कष्टकर बनेको स्थानीय बताउँछन् । अत्याधिक गर्मीका कारण पङ्खा, कुलर तथा पानी आपूर्तिमा समस्या हुँदा बालबालिका, वृद्धवृद्धा र बिरामी बढी प्रभावित भएका छन् ।

विद्युतको अनियमितताले स्थानीय पालिकासहित अन्य सरकारी कार्यालयको सेवा प्रवाहमा समेत असर परेको छ । कम्प्युटर प्रणालीमार्फत सञ्चालन हुने सेवा अवरुद्ध हुँदा सेवाग्राहीले घण्टौँ कुर्नुपर्ने अवस्था सिर्जना भएको कर्मचारीहरू बताउँछन् । इन्टरनेट सेवा समेत प्रभावित हुँदा बैङ्किङ, अनलाइन भुक्तानी तथा व्यावसायिक गतिविधिमा समस्या देखिएको छ ।

“लाइन आउजाउ हुँदा अत्याधिक गर्मीले कार्यालयमा बस्न सकिने अवस्था पनि छैन, सेवाग्राहीले समेत समयमै सेवा पाउन सकेका छैनन्, कार्यालयमा भएको इन्भर्टरले पनि कति थेगोस्”, बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले भन्नुभयो ।

“सानो काम लिएर आएको तर लाइन जाने आउने भइरहँदा काम बनेको छैन, पटक पटक लाइन काटिन्छ बुझ्नै सकिन्न”, बर्दघाट नगरपालिकामा सेवा लिन आउनुभएका एक सेवाग्राहीले भन्नुभयो ।

स्थानीय उपभोक्ताहरूले भने यो अवस्था “अघोषित लोडसेडिङ” जस्तै भएको भन्दै नेपाल विद्युत् प्राधिकरणप्रति असन्तुष्टि जनाएका छन् । गर्मी बढेसँगै विद्युतको माग उच्च भए पनि पर्याप्त व्यवस्थापन हुन नसकेको उपभोक्ताको भनाइ छ । 

बर्दघाट वितरण केन्द्रका प्रमुख शिव शङ्कर सोनीले सिस्टममा (गृड)मा समस्या आएका कारण लाइन अवरोध हुन पुगेको बताउनुभयो । “सिस्टममा समस्या आउने र रुख बिरुवाका कारण एक दुई दिन समस्या भएको हो, अरू समस्या छैन”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button