‘वैदेशिक रोजगारी सुरक्षित मात्र होइन, स्वदेशमै पर्याप्त रोजगारी सिर्जना हाम्रो पहिलो प्राथमिकता’

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गरी युवाहरूलाई देशभित्र नै रोजगारीका अवसर उपलब्ध गराउने विषय मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको विभिन्न समयमा सांसदहरुले उठाएका विषयमा जवाफ दिनुहुँदै मन्त्री यादवले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउने मात्रै नभई स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गरी युवाशक्तिलाई रोजगारीका अवसर उपलब्ध गराउने मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताउनुभयो ।
उहाँले वैदेशिक रोजगारीमा रहनुभएका नेपाली श्रमिकहरूको सुरक्षा, स्वास्थ्य र समग्र अवस्थाप्रति सरकार पूर्ण रुपमा चनाखो रहेको चन्दै विभिन्न कारण विदेशका अस्पतालहरूमा उपचाररत नेपाली श्रमिक तथा उद्धारको प्रतिक्षमा रहेका नेपालीहरूको विषयमा मन्त्रालय अत्यन्त संवेदनशील भएर काम गरिरहेको बताउनुभयो ।
उहाँले वैदेशिक रोजगारीका नाममा हुने शोषण, ठगी र अनियमितताका प्रति सरकारको जिरो टोलरेन्सको नीति रहेको स्पष्ट पार्नुभयो ।
श्रम मन्त्री यादवले भावी दिनमा ठगी नियन्त्रण र आप्रवासनलाई पारदर्शी र न्यायोचित बनाउन वैदेशिक रोजगारीको समग्र प्रणालीलाई पूर्णरुपमा डिजिटलाईज्ड गर्ने नीति रहेको पनि सदनमा जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्