तपाईँ सुन्दै हुनुहुन्छः

पर्साको तुलसीबर्वाबाट सशस्त्र प्रहरीद्वारा ८७ किलो गाँजा बरामद

वीरगञ्ज  । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर–४ तुलसीबर्वास्थित ओरिया खोलाको किनारमा रहेको खेतबाट लुकाइछिपाइ राखिएको अवस्थामा सशस्त्र प्रहरीले ८७ किलो गाँजा बरामद गरेको छ । 

खेतमा गहुँको भुसले छोपी राखिएको अवस्थामा उक्त लागूऔषध गाँजा फेला परेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) भिस्वाबाट सशस्त्र प्रहरी निरीक्षक अर्जुन दाहालको कमाण्डमा खटिएको गस्ती टोलीले आइतबार राति १० बजे विशेष सूचनाको आधारमा सर्च अभियान सञ्चालन गरेको थियो ।

सोही क्रममा खेतभित्र शङ्कास्पद रूपमा लुकाइ राखिएको गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गाँजा आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य तीव्र रूपमा अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ । लागूऔषध कारोबारमा संलग्न गिरोहको खोजीका लागि सीमावर्ती तथा ग्रामीण क्षेत्रमा निगरानीसमेत बढाइएको छ ।

पछिल्लो समय पर्साका ग्रामीण बस्ती तथा सीमावर्ती क्षेत्रमा लागूऔषध कारोबारको सञ्जाल फैलिन थालेपछि सशस्त्र प्रहरीले चेकजाँच र निगरानीलाई कडा बनाएको जनाएको छ । विशेषगरी भारतसँग जोडिएका नाका तथा खोलानालाको प्रयोग गरेर लागूऔषध ओसारपसार हुने सूचनाका आधारमा सर्च अभियानलाई प्रभावकारी बनाइएको बताइएको छ ।

सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रमुख एसपी मोहन बहादुर क्षेत्रीले लागूऔषध नियन्त्रण अभियानलाई प्राथमिकतामा राख्दै सीमावर्ती क्षेत्रदेखि ग्रामीण बस्तीसम्म विशेष अपरेसन सञ्चालन भइरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button