तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाको बैठक : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल भएको छ ।  

बैठकमा नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले विनियोजन विधेयकले कृषिमा रोजगारीको अवसर सिर्जना गरेर युवाहरूलाई स्वदेशमै आकर्षित गर्नुपर्ने, निजी क्षेत्रलाई शङ्काको दृष्टिबाट नहेरी साझेदारीका रुपमा हेरिनुपर्ने, सार्वजनिक संस्थाहरूलाई पारदर्शी बनाउनुपर्ने र उत्पादनमुखी अर्थतन्त्रका लागि कृषिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । 

बैठकमा नेकपा एमालेका सांसद प्रेमप्रसाद दङ्गालले मुलुकको वर्तमान आर्थिक धरातल, अनुमानित कुल ग्राहस्थ उत्पादन, मुद्रा स्फीति, राजस्व प्रक्षेपण र खर्चको सीमाजस्ता समष्टिगत आर्थिक सूचकहरूको वास्तविक विश्लेषण र तथ्याङ्कविना प्रस्तुत गरिएको विनियोजन विधेयक कुनै ठोस आर्थिक मार्गचित्र नभइ राजनीतिक भाषणजस्तो मात्रै भएको बताउनुभयो । 

त्यसैगरी जनता समाजवादी पार्टीकी सांसद पूजा चौधरीले  सुकुम्बासी बस्तीबाट विस्थापित  महिला, बालबालिका र वृद्ध वृद्धालाई सम्बोधन गर्ने गरी यो सरकारले बजेट निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । 

राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी छ । 

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा बैशाख ३१ गते मौजुदा मन्त्री परिषद्मा नियुक्ति हेरफेर र कार्य विभाजन गरी मन्त्री परिषद् गठन गर्नुभएको ब्यहोराको पत्र पढेर सुनाउनुभयो । 

यसअघि बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button