प्रतिनिधिसभा बैठक: बलात्कार, मानव तस्करी र वैदेशिक रोजगारी सुरक्षाबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले बलात्कार, हत्या, मानव तस्करीको अन्त्य, वैदेशिक रोजगारीमा सुरक्षा लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद बलावती शर्माले जेठ पहिलो साता प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रश्नोत्तर गर्न पाउनुपर्ने माग गर्नुभयो ।

सांसद शर्माले शर्माले प्रतिनिधि सभा कार्यसम्पादन नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्ने माग गर्नुभयो ।
सांसदहरुले मानव तस्करबाट कुवेत पुगेर हराइरहेकी नेपाली महिला शर्मिला दर्जीको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउँदै कुवेतलगायत विभिन्न खाडी मुलुकसम्म फैलिएको मानव तस्करीको कार्य रोक्न माग गर्नुभयो ।
सांसदहरुले भूमिगत विद्युत् विस्तार तथा खानेपानी विस्तार गर्ने सम्झौता भएका कम्पनी तथा ठेकेदारहरूले कार्य क्षेत्रमा निर्माण सामग्रीहरु असरल्ल राख्ने, सडक सुरक्षालाई बेवास्ता गर्ने र खनेका खाडलहरू समयमा नै मर्मत नगर्दा दुर्घटना बढ्दो तथा जनधनको क्षति भइरहेको भन्दै ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले बर्दियाको बबई नदिको घाटमा लास जलाइरहेको समयमा मलामी बस्ने टहरा भत्काएर जनताको समवेदनामाथिको प्रहार भएको भन्दै यस्ता कार्य रोक्न माग गर्नुभयो ।
सांसदहरुले सिन्धुलीमा पाँच वर्षीय बलिका बलात्कृत भएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै बलात्कार जस्ता जघन्य अपराध गर्नेलाई कारवाहीको माग गर्दै पिडित बलिकालाई उपचार र न्याय दिन माग गर्नुभयो ।
सांसदहरुले बलात्कारका घटनाका दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै यस्ता घटना बढ्न नदिन गाउँ गाउँसम्म जनचेतना जगाउनसमेत माग गर्नुभयो ।
बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले आफ्ना अगाडि आएर उठेर पर्चा लिएर प्रदर्शन गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठकमा पर्चा देखाएर प्रदर्शन गर्न कानुन र नियमावलीअनुसार नमिल्ने बताउनुभयो ।
सभामुख अर्यालले सदनमा पर्चा देखाएर प्रदर्शन गर्न कानुन नियमावलीले नदिएको भन्दै मर्यादामा बसेर विरोध गर्न सांसदहरूलाई निर्देशन दिनुभयो ।
बैठकको शुन्य समयमा सांसदहरुले देशका विभिन्न भागमा नेपाल टेलिकमको टावर, विद्युत् समस्याका कारण मानिसहरू प्रविधिको प्रयोगबाट वञ्चित हुनु परिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले सार्वजनिक यातायातमा यात्रुहरूलाई गुन्द्रुक जसरी खाँदेर यात्रु राख्ने गरिएको भन्दै सार्वजनिक यातायातको यात्रालाई सुरक्षित, व्यवस्थित बनाउन माग गर्नुभयो ।
सांसदहरुले महँगोमा विदेश गएर पनि काम नपाउने र फर्केर आउनु परे पैसा फिर्ता पाउने अवस्था नरहेको भन्दै फ्रि भिसा फ्रि टिकटमा वैदेशिक पठाउन सक्ने अवस्था बारे अध्ययन गरेर यसलाई व्यवस्थित गर्न माग गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्