नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविर : ३५० जना बढी बिरामी लाभान्वित
नेपालगञ्ज । लाइफ लाइन जनरल हस्पिटल प्रालि र परिवर्तन समूहको संयुक्त आयोजनामा सुर्खेतरोडस्थित गुरुद्वारामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा करिब ३५० भन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिएका छन् ।

शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए । शिविरमा ८० जना आँखासम्बन्धी समस्या भएका बिरामी तथा अन्य २७० जना विभिन्न स्वास्थ्य समस्या भएका बिरामीले उपचार तथा परामर्श सेवा लिएको आयोजकले जनाएको छ ।
शिविरका संयोजक दन्त चिकित्सक डा। प्रतीक श्रेष्ठका अनुसार २८० भन्दा बढी बिरामीको सामान्य रगत परीक्षण गरिएको थियो । बिरामीहरूको मधुमेह लगायतका विभिन्न परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । आँखा परीक्षणका क्रममा १० जना बिरामीलाई शल्यक्रिया आवश्यक देखिएकाले थप उपचारका लागि रिफर गरिएको छ । आँखा जाँच सेवाका लागि नेपालगञ्ज आँखा अस्पतालले सहकार्य गरेको थियो ।
यसैबीच, शिविर स्थलमै आयोजित रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् । जिल्लामा बेला–बेलामा देखिने रगत अभावको समस्या न्यूनीकरण गर्ने उद्देश्यले प्रादेशिक रक्तसञ्चार केन्द्रसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन् ।
शिविरमा भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा। सङ्केत रिसाल, ईएनटी सर्जन डा।दिनेश चौधरी, नेपालगञ्ज स्किन सेन्टरका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा। अभिषेक अर्जेल, खजुरा क्यान्सर अस्पतालका मूत्र रोग विशेषज्ञ डा। प्रवीण गुप्ता, फिजिसियन डा। त्रिस्टिन श्रेष्ठ तथा भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन एवं मिर्गौला विशेषज्ञ डा। पारस श्रेष्ठसहित अन्य मेडिकल अफिसरहरूको टोलीले सेवा प्रदान गरेको थियो ।
शिविरमा बिरामीहरूलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो । करिब ४०० भन्दा बढी बिरामीले निःशुल्क औषधि प्राप्त गरेका थिए । कार्यक्रममा नेपाल चिकित्सक संघ बाँके, नेपाल रेडक्रस सोसाइटी तथा नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घको सहकार्य रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्