तपाईँ सुन्दै हुनुहुन्छः

रारा ट्रेल रन: खेल र प्रकृतिको संगम

'छैटौँ रारा ट्रेल रनको उपाधि दलबहादुर र सुनमायालाई'

मुगु। हिमालको काखमा फैलिएको नीलो रारा ताल वरिपरि बुधबार बिहान धावकहरूको उत्साहले छुट्टै रौनक थपियो।

कर्णालीको प्राकृतिक सुन्दरतामाझ आयोजित छैटौँ रारा ट्रेल रनमा जुम्लाका दलबहादुर कुँवर र सुनमाया बुढाले उपाधि जित्दै आफ्नो उत्कृष्टता प्रमाणित गरेका छन्।

नेपाली सेना अन्तर्गत हनुमानध्वज गुल्म ले आयोजना गरेको १६ किलोमिटर दूरीको प्रतियोगितामा महिला ४९ र पुरुष ३१२ गरी एक विदेशी नागरिकसहित कुल ३६१ जना धावक सहभागी भएका थिए।

पुरुषतर्फ जुम्लाको तातोपानी गाउँपालिका–७ का दलबहादुर कुँवरले सबै प्रतिस्पर्धीलाई पछि पार्दै निर्धारित दूरी १ घण्टा १५ सेकेन्डमा पूरा गरी प्रथम स्थान हात पारे। जुम्ला कनकासुन्दरी गाउँपालिका–३ का राज बुढा १ घण्टा १ मिनेट ९ सेकेन्डसहित दोस्रो भए भने छायाँनाथ रारा नगरपालिका–१४ बाम गाउँका अक्कल बढुवाल १ घण्टा ३ मिनेट ५५ सेकेन्डमा दूरी पार गर्दै तेस्रो बने।

महिलातर्फ जुम्लाको पातारासी गाउँपालिका–२ की सुनमाया बुढाले १ घण्टा १३ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितिन्। सोही गाउँपालिकाकी राममाया बुढा दोस्रो हुँदा डोल्पाबाट सहभागी त्रिभुवन आर्मी क्लब की सुनसरी रोकाया तेस्रो भइन्।

विजेता महिला तथा पुरुष खेलाडीलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

राराको सौन्दर्यलाई खेल पर्यटनसँग जोड्दै विश्वसामु चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ। हनुमानध्वज गुल्म का गुल्मपति खड्गबहादुर श्रेष्ठले कर्णाली प्राकृतिक सम्पदाले मात्रै नभई खेलकुदका दृष्टिले पनि सम्भावना बोकेको क्षेत्र भएको बताए।

राराको शीतल हावा, हरिया डाँडा र कठिन भूगोलबीच धावकहरूले देखाएको उत्साहले यसपटकको ट्रेल रनलाई थप रोमाञ्चक बनाएको सहभागीहरूको भनाइ थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button