तपाईँ सुन्दै हुनुहुन्छः

जुम्ला देशभरमै उत्कृष्ट हुँदै लक्ष्यभन्दा बढी आर्थिक गणना

जुम्ला । जुम्लामा आर्थिक गणना २०८२ को तथ्याङ्क सङ्कलन लक्ष्य भन्दा बढी भएको छ । 

वैशाख २ गतेबाट सञ्चालन भई असार ७ गतेसम्म सञ्चालन हुने गणना अन्तर्गत जुम्लामा लक्ष्य भन्दा बढी तथ्याङ्क सङ्कलन गरिएको हो । 

जिल्ला आर्थिक गणना कार्यालय जुम्ला तथ्याङ्क सङ्कलनमा देशभरका ८४ वटा कार्यालय मध्यमै उत्कृष्ट समेत सावित भएको छ ।  कार्यालय प्रमुख दीपेन्द्रसिंह धामीको प्रत्यक्ष निगरानीमा जिल्लामा १८ गणक र ३ जना सुपरिवेक्षण निरन्तर फिल्डमै खटिएका छन् । जसका कारण देशभरमै पहिलो बन्दै लक्ष्य भन्दा बढी तथ्याङ्क सङ्कलन गरिएको  छ । 

जुम्लामा आर्थिक गणनाका २०८२ का लागि कुल ४ हजार ४११ आर्थिक प्रतिष्ठानहरूको विवरण सङ्कलन गर्न लक्ष्य तोकिएको थियो । आर्थिक गणना सुरु भएको मितिले जेठ २४ गते सम्मको तथ्यांकअनुसार ११४ प्रतिशत लक्ष्य पूरा भएको जिल्ला आर्थिक गणना कार्यालय प्रमुख दिपेन्द्र सिंह धामीले बताउनुभयो । 

उहाँका अनुसार २०७५ को आर्थिक गणनाको लक्ष्य जुम्लामा एक हजारले वृद्धि गरिदिएपनि निरन्तर खटाइले लक्ष्यभन्दा तथ्याङ्क सङ्कलन भएको छ ।  २०७५ को आर्थिक गणनामा जुम्लामा ३ हजार ७८ वटा आर्थिक प्रतिष्ठानको लक्ष्य दिइएको थियो । यद्यपि हालको जस्तो प्रगति हुन सकेन् । 

जिल्ला आर्थिक गणना कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रसिंह धामीका अनुसार तोकिएको कुल ४ हजार ४११ आर्थिक प्रतिष्ठानको लक्ष्यमा सोमवार सम्म ४ हजार ४१६ वटा प्रतिष्ठानको विवरण सङ्कलन भइसकेको छ । आगामी असार ७ गतेसम्म सञ्चालन हुने आर्थिक गणनाको समय सकिनै लाग्दा जुम्लामा लक्ष्य पुरा भइसकेको छ । अझै केही पालिकामा गणकहरू परिचालित छन् । 

‘२०७५ सालको आर्थिक गणनाको तुलनामा यसपालिको गणनामा जुम्लामा लक्ष्य नै बढाएर दिइएको छ’,उहाँले भन्नुभयो,‘२०७५ को आर्थिक गणनामा जुम्लामा ३ हजार ७८ प्रतिष्ठानको विवरण सङ्कलन गर्ने लक्ष्य तोकिएको थियो । अहिले बढाएर लक्ष्य ४४ सय ११ पुराइएको छ । तर छोटो समयमा जुम्लामा व्यापार व्यवसाय, साना उद्योग कलकारखाना तथा आर्थिक प्रतिष्ठानहरू बढेको तथ्याङ्कले देखाउँछ ।’ 

पालिकागत रुपमा तथ्याङ्क हेर्दा सबैभन्दा बढी आर्थिक प्रतिष्ठान चन्दननाथ नगरपालिकामा रहेका छन् । चन्दननाथमा रहेका १६ सय ४८ आर्थिक प्रतिष्ठानमध्ये १४सय ८५प्रतिष्ठानको विवरण सङ्कलन भइसकेको छ । भने तातोपानीका ३५९ प्रतिष्ठान मध्य ३३४ प्रतिष्ठानको विवरण सङ्कलन हुँदा कनकासून्दरीका ५५९ आर्थिक प्रतिष्ठान मध्य ४१४ प्रतिष्ठानको विवरण सङ्कलन भइसकेको छ ।

तिलार सिंजा गाउँपालिकामा भने निर्धारित लक्ष्य भन्दा बढी आर्थिक प्रतिष्ठानको विवरण सङ्कलन भएको छ । तिलामा ४७८ को लक्ष्य दिइएकोमा विवरण सङ्कलन ५५७ प्रतिष्ठानको गरिएको छ । तिलामा लक्ष्यभन्दा बढी ७८ प्रतिष्ठान थपिएका छन् । सिंजामा ३८६ लक्ष्य दिइएकोमा विवरण सङ्कलन ४२५ आर्थिक प्रतिष्ठान गरिएको छ ।  

पातारासीमा ४३१ प्रतिष्ठान मध्य ३४३  वटा आर्थिक प्रतिष्ठान, हिमाका २९५ प्रतिष्ठानमध्ये २६३, गुठिचौर ३०३ प्रतिष्ठानमध्ये ११४ आर्थिक प्रतिष्ठानको विवरण सङ्कलन भइसकेको छ । विगतको तुलनामा तथ्य र वास्तविक विवरण सङ्कलनका लागि गणक तथा सर्वेक्षकलाई फिल्डमै खटाइएको छ । जुम्लाको व्यापारिक तथा आर्थिक गतिविधिको ठोस मार्गचित्र गणनाबाटै निस्कने भएकाले यसलाई तथ्यपरक बनाउन गम्भीर रुपमा तथ्याङ्क सङ्कलन भइरहेको प्रमुख धामीको भनाई छ । 

गणक तथा सर्वेक्षक सहित २० जना बढी जनशक्ति फिल्डमा खटिएका छन् । बाँकी रहेका तथ्याङ्क सङ्कलन स्थलमा गणक तथा सर्वेक्षक पुगी सकेका छन् । समय अगावै लक्ष्य पूरा गरेपनि असार ७ गतेसम्म सञ्चालन हुने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button