तपाईँ सुन्दै हुनुहुन्छः

बिना निष्कर्ष टुङ्गियो सर्वदलीय बैठक 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुगिंएको छ ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बसेको सर्वदलीय बैठकमा राष्ट्रिय हितका लागि राजनीतिक गतिरोध अन्त्य गरी संसद् सञ्चालन  र सहकार्यका विषयमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । 

महामन्त्री बुर्लाकोटीले नेपाल भारत सीमा विवादको विषयगत सम्बन्ध परराष्ट्र मन्त्रालयसँग भएकोले समग्र कूटनीतिक विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले सदनलाई सम्बोधन गर्ने बारेमा पनि छलफल भएको बताउनुभयो ।

बैठकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको भनेर दिनुभएको अभिव्यक्तिको रेकर्ड सदनबाट हटाउनुपर्ने र प्रधानमन्त्री शाहको संसद्प्रति जबाफदेहिता सुनिश्चित गर्दै संसद् सञ्चालनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । 

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले संसदमा विपक्षी दल अल्पमतमा रहेको भन्दै बहुमतको सरकारले सबै संवैधानिक व्यवस्था भत्काउने तथा शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्त कमजोर बनाउने कार्य गर्न नहुने बताउनुहुँदै कूटनीति सम्बन्धका विषयमा संवेदनशील भई आ–आफ्नो अभिव्यक्ति दिन आवश्यक रहेको औँल्याउनुभयो ।

बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपाल, नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक ऐन महर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टी (रा स्व पा) का सभापति रवि लामिछाने लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबीच समसामयिक तथा राजनीतिक विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button