तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा ७ हजार ४ सय प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला नष्ट

बीरगंज। भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको ७ हजार ४ सय प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला आज सशस्त्र प्रहरीले पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर –४ अमरपट्टीस्थित सीमा क्षेत्रबाट नियन्त्रणमा लिई नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साबाट खटिएको गस्ती टोलीले विशेष सूचनाको आधारमा करिब ७ लाख ४० हजार रुपैयाँ बराबरका ७४ कार्टुनमा राखिएका ७ हजार ४ सय ब्रोइलर चल्लासहित बिन्दबासिनी गाउँपालिका वडा नम्बर –४अमरपट्टी निवासी ४२ वर्षीय उमेश मुखियालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका व्यक्ति लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको ब्रोइलर कुखुराका चल्लालाई आजै पशु स्वास्थ्य तथा क्वारेनटाइनसम्बन्धी प्रचलित कानुनी व्यवस्था अनुसार नेपाल प्रहरी, स्थानीय सञ्चारकर्मी, क्वारेन्टाइन कार्यालयका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिको रोहवरमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्सामा नष्ट गरिएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध आयात तथा पशुजन्य वस्तुको गैरकानुनी ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई तीव्र बनाएको निरौलाले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button