विद्यालय पूर्वाधार पुनर्संरचनाको तयारीमा सरकार
'एसईईमा असफल विद्यार्थीका लागि तयारी कक्षा सञ्चालन गरिने'
काठमाडौँ। सरकारले विद्यालय तहको शैक्षिक र भौतिक पूर्वाधारको अवस्थाबारे विस्तृत अध्ययन गरिरहेको जनाएको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज सिंहदरबारमा बसेको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सरकारले देशभरका सम्पूर्ण विद्यालय भवन, खेलमैदान, शिक्षक, कर्मचारी, विद्यार्थी र अन्य संरचनाहरूको विस्तृत अध्ययन गरिरहेको र अध्ययनबाट प्राप्त हुने तथ्यका आधारमा विद्यालय तहको सम्पूर्ण पूर्वाधार पुनर्संरचना गरिने बताउनुभयो ।
एक महिना भित्र एईई परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको भन्दै मन्त्री पोखरेलले एसईई परीक्षामा असफल हुने विद्यार्थीका लागि पुरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो ।

बैठकमा सांसदहरुले सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकाहरूको पठन पाठनकाका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्ने, शिक्षा विधेयक तत्काल ल्याउनुपर्ने, खेलकुद विश्वविद्यालय स्थापना गरिनुपर्ने र विद्यार्थिहरुका लागि ई–बुकको व्यवस्था गर्न सरकारलाई सुझाव दिनुभयो ।
सांसदहरुले विद्यालय खाजा कार्यक्रममा हुने गरेको अनियमिता रोक्न र विभिन्न १७ प्रकारका शिक्षकका समस्या समाधान गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने विचार व्यक्त गर्दै व्यावसायिक र सीपमूलक शिक्षाका लागि विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले मन्त्रालयले हालसम्म गरेका कार्यप्रगति विवरण पेश गर्दै देशभरका २७ हजार सामुदायिक विद्यालयमा २ लाख ३२ हजार एक सय ५ शिक्षक तथा कर्मचारी रहेको जानकारी गराउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्