तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा यार्सागुम्बा सङ्कलन अनुमति जेठ १३ देखि खुला

'एक महिनासम्म मात्रै प्रवेश पुर्जी वितरण हुने'

मुगु। बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि मुगुम कार्मारोङ गाउँपालिका ले आगामी जेठ १३ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भएको छ।

गाउँपालिकाले एक महिनाका लागि यार्सा सङ्कलन अनुमति दिने तयारी पूरा गरेको जनाएको छ।

गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामा का अनुसार जेठ १३ गतेदेखि असार १३ गतेसम्मका लागि मात्रै प्रवेश पुर्जी वितरण गरिनेछ। जिल्ला बाहिरबाट आउने सङ्कलनकर्ताका लागि वन प्रवेश शुल्क प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ तथा जिल्ला भित्रकाका लागि २ हजार रुपैयाँ तोकिएको उनले बताए।

गाउँपालिकाका अनुसार छापाखोला, रिमार, तल्लो कुईकी, माथिल्लो कुईकी, छुगोल्डुङ, हाङ्दाङखोला, माजिङथान लगायतका उच्च हिमाली क्षेत्र यार्सागुम्बा पाइने मुख्य पाटनका रूपमा परिचित छन्। यी क्षेत्रलाई यार्सागुम्बा सङ्कलनका लागि उर्वरभूमि मानिन्छ।

हरेक वर्ष हुम्ला, जुम्ला, कालिकोट, मुगु, जाजरकोट तथा सुर्खेत लगायत जिल्लाबाट ठूलो सङ्ख्यामा मानिसहरू यार्सागुम्बा सङ्कलनका लागि मुगु पुग्ने गरेका छन्। यार्सा सङ्कलनको समय सुरु भएसँगै हिमाली बस्ती तथा पाटन क्षेत्रमा चहलपहल बढ्ने गर्दछ।

गाउँपालिकाले ‘छोडपुर्जी’ प्रणालीमार्फत सङ्कलन अनुमति वितरण गर्दै आएको छ। उक्त प्रणालीबाट हरेक वर्ष लाखौँ रुपैयाँ राजस्व सङ्कलन हुँदै आएको गाउँपालिकाको भनाइ छ। यार्सागुम्बा सङ्कलनबाट स्थानीयवासीले राम्रो मौसमी आम्दानी गर्ने भएकाले यसले हिमाली क्षेत्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button