तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा रगत संकट: सेना, प्रहरी र स्वास्थ्यकर्मीको भर

बाजुरा। बाजुरामा ब्लड बैङ्क नहुँदा बिरामीका आफन्त रगत खोज्दै बजार डुल्न बाध्य भएका छन् । जिल्ला अस्पताल बाजुरामा आकस्मिक प्रसूति, सुत्केरी तथा अन्य अप्रेसन सेवाका क्रममा रगत अभावले उपचार सेवा नै प्रभावित हुने गरेको छ ।

जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार अस्पतालमा रगत आवश्यक पर्ने बिरामी आएपछि सेना, प्रहरी र स्वास्थ्यकर्मीलाई गुहार्नुपर्ने अवस्था रहेको छ । उहाँले स्थानीयमा रक्तदानसम्बन्धी चेतनाको कमी र रक्तसञ्चार केन्द्र नहुँदा समस्या झन् जटिल बनेको बताउनुभयो ।

“रगतको आवश्यकता पर्ने बित्तिकै मान्छे बोलाएर दिनुपर्ने अवस्था छ । यसले सेवा प्रवाह निकै असहज बनेको गिरिको भनाइ छ।”

जिल्ला अस्पताल बाजुरामा जटिल प्रसूति सेवा र अन्य अप्रेसन सेवा सञ्चालनमा छन् । अस्पतालमा तीन जना विशेषज्ञ चिकित्सक कार्यरत भए पनि अप्रेसनका लागि आवश्यक रगत नपाउँदा समस्या हुने गरेको स्वास्थ्यकर्मी छत्र साउँदले बताउनुभयो । विशेषगरी सुत्केरी महिलाको शल्यक्रिया गर्नुअघि रगत दिने व्यक्ति खोज्नुपर्ने बाध्यता रहेको छ ।

अस्पतालका अनुसार यहाँ आवश्यक पर्ने ९० प्रतिशतभन्दा बढी रगत सेना, प्रहरी र स्वास्थ्यकर्मीले उपलब्ध गराउँदै आउनुभएको छ । हरेक हप्ता १० जनाभन्दा बढी बिरामीलाई रगत आवश्यक पर्ने गरेको छ । तर आकस्मिक अवस्थामा मात्रै रगत खोज्ने परिपाटीले समस्या झन् बढेको अस्पतालको भनाइ छ ।

गौमुल गाउँपालिका – ५ का ५६ बर्षिया काली ल्वारलाइ रगत अभाव हुँदा अस्पतालकै स्वास्थ्यकर्मीले रक्तदान गरेर ज्यान जोगाएको उदाहरण अस्पतालले दिएको छ ।

जिल्ला अस्पताल बाजुरा र नेपाल रेडक्रस सोसाइटीमा ब्लड बैङ्क स्थापना हुन नसक्दा समस्या झन् चर्किएको छ । रेडक्रसले दुई पटक डिप फ्रिज ल्याए पनि सञ्चालनमा ल्याउन सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारले पटक–पटक बजेट विनियोजन गरे पनि पर्याप्त बजेट व्यवस्थापन नहुँदा ब्लड बैङ्क स्थापना हुन नसकेको सूचना अधिकारी गिरीले बताउनुभयो ।

ब्लड बैङ्क नहुँदा सुत्केरी महिला, दुर्घटनाका घाइते र अन्य गम्भीर बिरामीले समयमा रगत नपाएर उपचारमा सास्ती भोग्नु परेको स्थानीयको गुनासो छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button