तपाईँ सुन्दै हुनुहुन्छः

संघीय संसद्को दुवै सदनमा आज आठ अध्यादेश पेश हुँदै

काठमाडौँ।  संघीय संसद्को वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । संघीय संसद् सचिवालयका अनुसार आज अपराह्न ४ः०० बजे संघीय संसद्को संयुक्त बैठक बस्नेछ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

प्रतिनिधि सभा राष्ट्रियसभाको आज २ बजे बस्ने छुट्टाछुट्टै पहिलो बैठकमा सरकारले ल्याएका ८ वटा अध्यादेश पेश हँुदैछ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३, र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ पेस गर्नुहुने छ ।

यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पेस गर्ने कार्यसूची रहेको छ ।

यसैगरी अपराह्न ४ बजे बस्ने संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकका लागि संघीय संसद्का सदस्यहरूलाई ३ः४५ बजेभन्दा अगाडि नै प्रतिनिधिसभा कक्ष बहुउद्देश्यीय कक्ष सिंहदरबारमा उपस्थित हुनका लागि आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button