चौदण्डी गढीमा जातीय विभेद तथा छुवाछुत मुक्त पालिका घोषणा कार्यान्वयन अभियान सुरु
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले जातीय विभेद तथा छुवाछुत अन्त्य गर्ने उद्देश्यसहित “जातीय विभेद तथा छुवाछुत मुक्त पालिका घोषणा कार्यान्वयन अभियान” सुरु गरेको छ ।

“हाम्रो सरोकार, हाम्रो प्रतिबद्धता : जातीय छुवाछुत मुक्त चौदण्डीगढी नगरपालिका” भन्ने मूल नारासहित शनिबार बेल्टार बजारस्थित बसपार्कमा आयोजित बृहत् कार्यक्रममार्फत अभियानको औपचारिक शुभारम्भ गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख कालुमान लामाले चौदण्डीगढी नगरपालिकालाई औपचारिक रूपमा जातीय विभेद तथा छुवाछुत मुक्त पालिका घोषणा गर्दै अब यसको प्रभावकारी कार्यान्वयनमा नगरपालिका गम्भीर रूपमा लाग्ने बताउनुभयो । उहाँले संविधानले नै जातीय विभेद तथा छुवाछुतलाई कानुनी अपराधका रूपमा परिभाषित गरिसकेको अवस्थामा समाजमा अझै पनि विभिन्न स्वरूपमा विभेद कायम रहनु दुःखद भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागी दलित अधिकारकर्मी, त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई लगायत विभिन्न वक्ताहरूले समाजमा अझै पनि दलित समुदायले विभेद, अपमान र सामाजिक बहिष्करण भोग्नुपरेको भन्दै त्यसको अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो ।
नगर स्तरीय दलित समन्वय समिति चौदण्डीगढी नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रम समितिका अध्यक्ष भिम परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा जातीय विभेद अन्त्यसम्बन्धी सचेतनामूलक सन्देश, प्रतिबद्धता व्यक्त गर्ने गतिविधि तथा सामाजिक एकताको आवश्यकता विषयमा समेत चर्चा गरिएको थियो । कार्यक्रममा सहभागीहरूलाई दलित अभियन्ताहरूले खिर पकाएर खुवाउनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्