तपाईँ सुन्दै हुनुहुन्छः

जुम्ला–रारा म्याराथनमा धिरेन्द्र र कल्पनाको जित

जुम्ला । ५४ किलोमिटर दूरीको जुम्ला–रारा म्याराथन प्रतियोगितामा पुरुष तथा महिला दुवै तर्फका धावकहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। जुम्लाको खलङ्गा बजारबाट बिहान ६ बजे सुरु भएको म्याराथनमा देशका विभिन्न जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो।

पुरुषतर्फ जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका–१ निवासी ३५ वर्षीय धिरेन्द्र बुढाले ६ घण्टा ९ मिनेट ८ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरेका छन्। उनी हाल डिभिजन वन कार्यालय मुगुमा कार्यरत रहेका छन्।

प्रतियोगितामा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–४ निवासी ४४ वर्षीय होमलाल श्रेष्ठ दोस्रो बने। त्रिभुवन आर्मी क्लबका खेलाडी रहेका उनले ६ घण्टा ११ मिनेटमा दौड पूरा गरेका हुन्। यस्तै, गोकुलगंगा गाउँपालिका–५ निवासी ३० वर्षीय गोपाल तामाङले ६ घण्टा १३ मिनेटमा दूरी पूरा गर्दै तृतीय स्थान हात पारे। उनी पनि त्रिभुवन आर्मी क्लबका खेलाडी हुन्।

महिलातर्फ जुम्ला जिल्लाको पातारासी गाउँपालिका–२ निवासी १८ वर्षीया कल्पना बुढाले ७ घण्टा ७ मिनेटमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। उनी कर्णाली स्पोर्ट्स क्लबकी खेलाडी हुन्।

त्यसैगरी, डोल्पा जिल्लाको ठुली भेरी नगरपालिका–५ निवासी २३ वर्षीया सुनसरी रोकायले ७ घण्टा १८ मिनेटमा दौड पूरा गर्दै दोस्रो स्थान हासिल गरिन्। उनी त्रिभुवन आर्मी क्लबकी खेलाडी हुन्। पातारासी गाउँपालिका–२ कै १८ वर्षीया सन्देवा बुढाले ७ घण्टा २५ मिनेटमा दौड पूरा गर्दै तृतीय स्थान हासिल गरिन्। उनी पनि कर्णाली स्पोर्ट्स क्लबकी खेलाडी हुन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button