बुटवल–नारायणगढ सडकखण्डमा यात्रा सहज, दाउन्ने खण्डको ढलान अन्तिम चरणमा
नवलपरासी। लामो समयदेखि धुलो, हिलो र जामका कारण यात्रुको हैरानीको विषय बनेको बुटवल–नारायणगढ सडकखण्डमा अहिले सवारी साधन सरर चल्न थालेका छन् ।

सडक विस्तारको काम तीव्र बनेसँगै विभिन्न स्थानमा कालोपत्रे सम्पन्न भएपछि यात्रामा सहजता आएको हो । विशेष गरी निकै असहज मानिएको १४ किलोमिटर रहेको दाउन्ने सडक खण्डको दुईतर्फी ढलानको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ ।
दाउन्ने खण्डको १सय ८० मिटर बाहेक सबै ढलानको काम मोटामोटी रुपमा सकिएको आयोजनाका पश्चिम् खण्डका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिनुभयो । ‘पहिरोले भत्काएको एक ठाउँको १ सय मिटर र अर्को ठाउको ८० मिटर गरी १८० मिटर जति रिजिटको काम बाकी छ र दुई तर्फी सकिन करिब १ किलोमिटर जति मात्रै बाकी छ,ज्येष्ठ १५ सम्म पहिरो गएको १८० मिटर बाहेक अरू सकिन्छ’ ज्ञवालीले रेडियो नेपाललाई जानकारी दिनुभयो । दाउन्ने मन्दिर नजिकै ६७ मा कल्भर्ट निर्माणको काम भइरहेको र आधा सकिएको उहाँले जानकारी दिनुभयो ।
विशेषगरी पश्चिम नवलपरासीको दाउन्ने क्षेत्र हुँदै पर्ने सडकखण्डमा केही समयअघिसम्म दैनिकजसो सवारी जाम हुने, दुर्घटनाको जोखिम बढ्ने तथा यात्रुले घण्टौँ सास्ती व्यहोर्नुपर्ने अवस्था थियो । अहिले भने सडक ढलानको काम अन्तिम चरणमा पुगेसँगै आवागमन तुलनात्मक रूपमा निकै सहज बनेको यात्रुहरूले बताएका छन् ।’अहिले त कतै जाममा नपरी सरर आइयो,घण्टौँ समय पनि लागेन,बाटो गजब भएछ’ दलदले फारमका दामु पौडेलले भन्नुभयो ।
सडकमा धुलो कम हुनुका साथै यात्रा समय पनि घट्न थालेको छ । सार्वजनिक यातायात चालकहरूले समेत पहिलेको तुलनामा गाडी सञ्चालन सहज भएको बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्