भूमिसम्बन्धी समस्या समाधान हुन्छ, कोही आत्तिनु पर्दैन : मन्त्री रावल
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने गरी सरकार अघि बढिरहेकाले कोही पनि पीडित आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा मन्त्री रावलले भूमिको समस्या समाधानका लागि पहिचान र व्यवस्थापनको काम मुख्य भएकाले त्यसका लागि सरकारले काम शुरु गरिसकेको बताउनुभयो ।
उहाँले भूमिहीन र पीडितको आडमा बसेर खेल्नेहरूप्रति सरकार निर्मम बन्ने भन्दै सरकारले भूमिसम्बन्धी समस्याको दिगो समाधानका लागि काम शुरु गरेको र अर्को हप्तासम्म प्रगतिको केही छनक देखिने बतउनुभयो ।
मन्त्री रावलले सहकारी पीडितको रकम फिर्ताका सम्बन्धमा ऋण असुली, बचत फिर्ता र नियमनलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि काम शुरु गरिसकेको बताउनुभयो । उहाँले सहकारी पीडितलाई राज्य कोषबाट नभई ऋण असुलीबाट नै बचत फिर्ता गर्ने कुरामा ढुक्क हुन पनि आग्रह गर्नुभयो ।
बैठकमा सांसदहरुले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधान, गुठी सम्बन्धी समस्या समाधान र सहकारी पीडितका समस्या समाधानका लागि ऋण असुली र बचत फिर्ताका विषयमा उठाउनुभएको थियो ।
छलफलमा मन्त्रालयका सचिव मदन भुजेलले समस्याग्रस्त सहकारी पीडितका समस्या समाधान र ऋण असुलीलाई व्यवस्थित गर्न अध्यादेश मार्फत दायरा फराकिलो पारेर काम अगाडी बढाइएको बताउनुभयो ।
बैठकमा मन्त्रालयका तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका परिचयसहित हालसम्मको सम्पादित कामकारबाही, चालू आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्य योजनाका सम्बन्धमा जानकारी गराइएको थियो ।
यसैबीच कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकले बैठकको कार्यविधि अध्ययन गर्न गठित कार्यदलको संयोजक राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाललाई तोकी जेठ पहिलो हप्ताभित्र कार्यविधि अध्ययन गरी प्रतिवेदन पेश गर्ने समयसिमा दिएको छ ।
समितिमा रास्वपाबाट संयोजक खनाल सहित सांसदहरु वसुमाया तामाङ र कोमल ज्ञवाली, नेपाली काँग्रेसबाट सांसद सन्तोष सुब्बा, नेकपा एमालेबाट लक्ष्मी प्रसाद पोखरेल र नेपाली कम्युनिष्ट पार्टीबाट प्रेमबहादुर बयक र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तायर अलि भाट रहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्