बाढीपहिरोका कारण अवरुद्ध केही राजमार्ग सञ्चालन, केही अवरुद्ध
काठमाडौँ । केही दिनदेखिको वर्षाका करण आएको बाढीपहिरोका कारण अवरुद्ध भएका देशका केही राजमार्ग आजदेखि सञ्चालनमा आएका छन् भने केही मुख्य राजमार्ग अझै अवरुद्ध भएका छन् ।
यही वैशाख २१ गतेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका–७ घुमाउने, ४०० बेँसीस्थित बिपी राजमार्ग तथा सल्यानको कुमाख गाउँपालिका–२ खरखरखोला र कोइरालाखोलास्थित सल्ली चौरजहारी सडकखण्ड आजदेखि सञ्चालनमा आएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार वैशाख १२ गतेको बाढीका कारण अवरुद्ध भएको भोजपुर नगरपालिका बोखिमको मध्यपहाडी लोकमार्ग, २३ गतेको पहिरोका कारण अवरुद्ध बनेको मकालु गाउँपालिका–३ नयाँ बस्तीस्थित कोशी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।
यही वैशाख २१ गतेको अविरल वर्षाका कारण इलामको रोङ गाउँपालिका-६ सलकपुरस्थित ङखेप हुँदै झापा जाने भित्री कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भई अझै सञ्चालनमा आउन नसकेको प्रवक्ता काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षासँगै आएको बाढीपहिरोले अवरुद्ध भएका केही मुख्य राजमार्ग सञ्चालनमा आएका छन् भने केही राजमार्ग एकतर्फी सञ्चालन भएका छन् । काभ्रेपलाञ्चोक खुर्कोट-नेपालथोक-कटुञ्जेबेसी बिपी राजमार्ग हुँदै सञ्चालन हुने सम्पूर्ण सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।”
वर्षात्को समयमा बाढीपहिरोको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालन भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले सरोकार भएका सबैलाई आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्