तपाईँ सुन्दै हुनुहुन्छः

कोहलपुर गोल्डकप: नेपाल पुलिस फाइनलमा, उपाधिका लागि आयोजकसँग भिडन्त

बाँके । चौथो कोहलपुर गोल्डकप–२०८३ को दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लब रोमाञ्चक पेनाल्टी सुटआउटमार्फत विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । बिहीबार कोहलपुर–२ स्थित प्रस्तावित कोहलपुर फुटबल रंगशाला मा सम्पन्न खेलमा पुलिसले रोयल फुटबल क्लब कर्णाली प्रदेश लाई ५–३ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टीमार्फत गरिएको थियो । जारी संस्करणमा पेनाल्टी सुटआउटमा पुगेको यो पहिलो खेल समेत बनेको छ ।

पेनाल्टीमा नेपाल पुलिसका पाँचै खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । पुलिसका कप्तान राम बगाले, अनिल टमाटा, सञ्जिव लामा, हेमन्त श्रेष्ठ र सुजन मगर ले गोल गर्दै टोलीलाई फाइनलमा पुर्‍याए ।

कर्णालीका लागि करण शाही, दिवश बिसी र बिक्रम अली ले गोल गरे पनि कप्तान सुदन विश्वकर्मा गोल गर्न असफल हुँदा टोली प्रतियोगिताबाट बाहिरियो ।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक कोहलपुर रेसिङ साहारा क्लब ले लालीगुराँस एसोसियसन क्लब पोखरा लाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

अब उपाधिका लागि वैशाख २६ गते आयोजक कोहलपुर रेसिङ साहारा क्लब र नेपाल पुलिस क्लबबिच भिडन्त हुनेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले आठ लाख रुपैयाँसहित ट्रफी, शिल्ड र मेडल प्राप्त गर्नेछ भने उपविजेताले चार लाख रुपैयाँसहित ट्रफी र शिल्ड पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

वैशाख १९ गतेदेखि सुरु भएको चौथो कोहलपुर गोल्डकप अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button