तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका नागरिकको राहदानी घरमै पुर्‍याइने

सल्यान । सल्यानमा नागरिकको घरमै पुगे राहदानी उपलब्ध गराउने कार्य सुरु भएको छ । 

जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच सम्झौता भएसँगै राहदानी लिनका लागि प्रशासन कार्यालयसम्म धाउनु पर्ने बाध्यताको अन्त्य भएको हो । 

प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटा र हुलाक कार्यालयका हुलाक अधिकृत चिन्तामणी रेग्मी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्द्धारा स्वीकृत सरकारी सेवा सुधारसम्बन्धी कार्यक्रम अन्तर्गत जनताको घरदैलो सेवा अवधारण लागु गर्दै हुलाक कार्यालयमार्फत जनताको घरदैलोमा राहदानी पुर्‍याउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाले बताउनुभयो । 

उहाँले राहदानी वितरणलाई सहज , छिटो र प्रविधिमैत्री बनाउन तथा सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयसम्म आउनुपर्ने बाध्यताको अन्त्य गर्दै घरदैलो सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो । 

जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत चिन्तामणी रेग्मीले सम्झौता कार्यान्वयनमा आइसकेको बताउनुभयो । उहाँले हुलाकका एक कर्मचारी जिल्ला प्रशासन कार्यालयमा बसेर फारम भराउने कार्यको थालनी गरेको बताउनुभयो । 

उहाँका अनुसार जनताको घरदैलो सेवा स्वैच्छिक भएकाले हुलाकमार्फत लिन चाहनेले थप एउटा फाराम भर्नुपर्नेछ । घरघरमा पुर्‍याउनका लागि भने हुलाक ऐनअनुसार ५५ रुपैयाँ दस्तुर तिर्नुपर्नेछ । राहदानी विभागबाट प्राप्त राहदानी जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीको नाम, ठेगाना र सम्पर्क विवरणसहित जिल्ला हुलाक कार्यालयमा पठाइने र त्यसको एक साताभित्र हुलाक कार्यालयले सेवाग्राहीको घरमै राहदानी पुर्‍याउने उहाँले जानकारी दिनुभयो ।

सरकारको शासकीय सुधार कार्यक्रमअन्तर्गत सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले यो कार्यक्रम सुरु गरेको हो । 

मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकले १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नं २७ मा सरकारी सेवा घरमै उपलब्ध गराउने उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button