दाङ भेटियो विश्वकै सबैभन्दा ठूलो विषालु प्रजातिको सर्प

दाङ । दाङमा पहिलो पटक सबैभन्दा ठूलो विषालु सर्प राज गोमन भेटिएको छ ।
विश्वकै सबैभन्दा ठूलो विषालु सर्प मानिने राज गोमन (किङ कोब्रा) पहिलो पटक दाङको गढवामा भेटिएको हो । गढवा गाउँपालिका वडा नम्बर ७ लक्षिनपुर निवासी स्थानीय सुशीला गुरुङको घरबाट सर्प उद्धारकर्ता शिवु खनालले बुधवार राती ८ बजे उक्त गोमन सर्प उद्धार गर्नुभएको हो ।
यसलाई गढवामा पहिलो अभिलेखीय उद्धार घटना मानिएको छ । सर्प उद्धारको जानकारी पाउन साथ सर्प उद्धारकर्ता शिवु खनाल घटनास्थल पुगे ।
डिभिजन वन कार्यालय देउखुरीका सिनियर डिभिजनल वन अधिकृत गणेश खड्कालाई तत्काल जानकारी गराइएपछि सर्प उद्धारकर्मी खनालको नेतृत्वमा दुईजना वन कर्मचारी घटनास्थल पुगेर एक घण्टाको लामो प्रयत्नपछि सर्पलाई जीवितै नियन्त्रणमा लिनु भएको थियो ।
उद्धारपछि सर्पलाई लमही नगरपालिका वडा नम्बर ५ अजम्मरी सामुदायिक वनमा ल्याइयो । सर्पको तौल करिब ८ किलो र लम्बाई १० फिट रहेको थियो । डिभिजन वन कार्यालय देउखुरीको समन्वयमा अजम्मरी सामुदायिक वनको प्राकृतिक बासस्थानमा पुनः स्थापित गरिएको सर्प उद्धारकर्ता शिवु खनालले बताउनुभयो ।





प्रतिक्रिया राख्नुहोस्