तपाईँ सुन्दै हुनुहुन्छः

कृषि समितिको निर्णय: आन्तरिक कार्यविधि अध्ययनका लागि ७ सदस्यीय उपसमिति गठन

काठमाडौँ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले आन्तरिक बैठक कार्यविधि अध्ययन गर्नका लागि ७ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

समितिको आज बसेको बैठकले संयोजकसहित ७ जना सदस्य रहने गरी उपसमिति गठन गर्ने निर्णय गरेको हो ।  

उपसमितिमा दलीय आधारमा रास्वपाका तीन, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक एक जना सदस्य रहने समितिका सभापति अशोककुमार चौधरीले जानकारी दिनुभयो ।

बैठकमा कृषि उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने, अर्ग्यानिक कृषि खेतीमा जोड दिनुपर्ने, कृषि उत्पादनको बजारीकरणलाई सहज बनाउनु पर्ने, बिचौलियाका कारण किसान र उपभोक्तामा परिरहेको मार कम गर्न सहकारी र स्थानीय पालीकाको समन्वयमा कृषि एम्बुलेन्स सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसदहरुले स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्ने, किसानको मलको समस्या समयमा नै समाधान गर्नुपर्ने, अर्ग्यानिक मल उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । 

समितिका सभापति अशोक कुमार चौधरीले समितिमा उठेका विषयमा समस्या मात्र देखाएर नहुने र समाधानसमेत खोज्नुपर्ने भन्दै सम्बन्धित मन्त्री, मन्त्रालय र सरोकारवालाहरूसँग छलफल गरेर निर्णय गर्दै अगाडी बढ्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button