तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती नदी पार गर्न अझै डुङ्गाको भर, स्थानीय जोखिममा

बाँके। बाँकेका राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका स्थानीय बासिन्दा राप्ती नदी वारपार गर्न अझै डुङ्गामै निर्भर छन् । वर्षौंदेखि पुल निर्माण नहुँदा स्थानीयले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

यी क्षेत्रका धेरै किसानको खेती नदीपारि डुडुवातर्फ रहेकाले दैनिक कामका लागि नदी तर्नु आवश्यक पर्ने गरेको छ । नेपालगन्ज पुग्न डुङ्गा नै छिटो र सहज माध्यम भएकाले जोखिमका बाबजुद आवतजावत रोकिएको छैन ।

डुडुवा गाउँपालिका–१ कुडुवाका ६५ वर्षीय अमिरका लोहारले पिप्रहवा घाटमा पुल निर्माणको माग दशकौँदेखि उठाउँदै आएको बताउनुभयो । उहाँका अनुसार वर्षात् सुरु भएपछि जोखिम झन् बढ्ने गर्दछ र बाढीका कारण डुङ्गा दुर्घटना पनि हुने गरेका छन् ।

स्थानीयका अनुसार विगतमा डुङ्गा दुर्घटनामा ज्यान गुमाउने घटना पनि भएका छन् । डुडुवा–१ चौफेरीका पहलवान यादवले बर्खामा नदी तर्नु अत्यन्त जोखिमपूर्ण हुने बताउँदै सुरक्षित विकल्प नहुँदा दैनिक ज्यान जोखिममा हाल्नुपरेको गुनासो गर्नुभयो ।

डुङ्गा चलाउँदै आएका विपत चौहानले डुङ्गा पुरानो भइसकेकाले जोखिम बढ्दै गएको बताउनुभयो । नयाँ डुङ्गा व्यवस्था गरिए केही सहज हुने उहाँको भनाइ छ ।

राप्ती नदीमा पिप्रहवा, सतीघाट र कुडुवा गरी तीन मुख्य घाटबाट डुङ्गा सञ्चालन हुँदै आएको छ । स्थानीय डुङ्गा चालकहरूका अनुसार बाढीका बेला यात्रा अझ खतरनाक हुने गर्दछ ।

स्वास्थ्य सेवा प्रवाहमा पनि समस्या देखिएको छ । डुडुवा–१ होलिया स्वास्थ्य चौकीकी अनमी सिमा घर्तिमगर खानले खोप कार्यक्रम सञ्चालनका लागि समेत जोखिमपूर्ण रूपमा नदी पार गर्नुपरेको बताउनुभयो ।

स्थानीयले पुल निर्माण भए आवतजावत, स्वास्थ्य सेवा र दैनिक जीवन सहज हुने बताएका छन् । वर्षौँदेखि उठ्दै आएको पुल निर्माणको माग अझै पूरा हुन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button