तपाईँ सुन्दै हुनुहुन्छः

५५७ मिटर लामो झोलुङ्गे पुल : स्थानीयलाई आवागमनमा सहजता

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० स्थित शिवनगर र ईक्राहा जोड्ने त्रियुगा नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएसँगै वर्षौंदेखि वारिपारिको सास्ती भोग्दै आएका स्थानीयमा उत्साह र राहत छाएको छ ।

वर्षायाममा त्रियुगा नदीको बहाव बढ्दा शिवनगर क्षेत्र टापुजस्तै बन्ने गरेको थियो । मदन भण्डारी राजमार्गबाट करिब एक किलोमिटर दूरीमै भए पनि नदी पार गर्न कठिन हुँदा स्थानीयले दैनिक जीवनमा ठूलो समस्या झेल्दै आएका थिए । 

सङ्घीय सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजन, पुल्चाेक ललितपुरको रु ९ करोड ६९ लाख ४९ हजारको लागतमा निर्माण गरिएको पुल निर्धारित समयभन्दा अगावै सम्पन्न भएको हो। “थानी निर्माण सेवा, काठमाडौँ”ले निर्माण गरेको उक्त पुलको लम्बाइ ५५७ मिटर रहेको छ । गत वर्ष असार ३० गते शिलान्यास गरिएको पुल दुई वर्षे लक्ष्यअघि नै सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

स्थानीय टिका निरौलाका अनुसार पुल सञ्चालनमा आएपछि इक्राहा, खैरहा, शिवनगर, हडिया, अँधेरी लगायत क्षेत्रका करिब ७ सय घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । विशेष गरी बिरामी, सुत्केरी, विद्यार्थी तथा दैनिक आवतजावत गर्ने सर्वसाधारणलाई अब सहज भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button