तपाईँ सुन्दै हुनुहुन्छः

डिलाशैनी गाउँपालिकाको ब्याक लोडर नक्कली नम्बर प्लेट राखेर प्रयोग

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको ब्याक लोडर नक्कली नम्बर प्लेट राखेर प्रयोग गरेको पाइएको छ । तीन वर्षदेखि नक्कली नम्बर प्लेट राखेर प्रयोग गरिएको पाइएको हो । 

गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ५२ लाखमा खरिद गरेको थियो । त्यसयता आजसम्म गाउँपालिकाले यातायात व्यवस्था कार्यालयमा दर्ता नगरीकनै चलाइरहेको पाइएको हो । तर गाउँपालिकाले सो मेसिनमा नक्कली नम्बर प्लेट राखेको छ । बा.प्र.०१–००४ क १२२६ नम्बर प्लेट नै राखेको छ । 

हालसम्म यातायात कार्यालयमा दर्ता नभएपछि सो ब्याक लोडर प्रयोगमा रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरबहादुर साउँदले जानकारी दिनुभयो । “गाउँपालिकासँग रहेको ब्याक लोडर मेसिन यातायात कार्यालयमा नवीकरण गर्न गएको थिए, त्यहाँ दर्ता भएको पाइएन, अब प्रक्रियामा जान्छ, अहिले यो लोडर ३ महिनादेखि बन्द छ,” प्रमुख प्रशासकीय अधिकृत साउँदले भन्नुभयो । 

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह बोहराले यस विषयमा पनि आफूलाई थाहा नभएको बताउनुभयो । “म नम्बर दर्ता गर्नका लागि बसेको हैन, मैले दर्ताका लागि कागज तयार परेको थिए, कसले गरेनछ थाहा भएन” अधिकृत बोहराले भन्नुभयो । 

३ वर्षदेखि गाउँपालिकाले दर्ता नै नगरी नक्कली नम्बर प्लेट राखेको विषयमा आफूलाई पनि हालै जानकारीमा आएको गाउँपालिका अध्यक्ष सन्तोष जोशीले जानकारी दिनुभयो । “सवारी दर्ता तथा नवीकरणको काम प्रशासनबाट हुनुपर्ने हो, यो विषयमा थप अध्ययन अनुसन्धान गर्दैछौँ,” अध्यक्ष जोशीले भन्नुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button