तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्न सम्पदा यात्रा 

भक्तपुर । भक्तपुरको ऐतिहासिक कला, संस्कृति र परम्परागत उद्योगलाई आन्तरिक तथा बाह्य पर्यटनसँग जोड्ने उद्देश्यका साथ क्रियाशील अभियान ‘गो लोकल’ (रैथाने तर्फ)र ‘भक्तपुर टोस्ट मास्टर्स क्लबबिच सहकार्य गर्ने सहमति भएको छ ।

राधेराधेस्थित होटल रोयल थाईमा आज आयोजित एक कार्यक्रममा दुवै समूहबीच भक्तपुरको मौलिकता संरक्षण र प्रवर्द्धनका लागि सहकार्य गर्ने छलफल भएको हो ।

भक्तपुरका सम्पदाहरूलाई विश्वभर चिनाउन र स्थानीय उद्योगलाई पर्यटनसँग जोड्ने उद्देश्यले निकट भविष्यमा दुवै टोलीको सहकार्यमा ‘सन्ध्याकालीन सम्पदा यात्रा आयोजना गरिने भएको छ ।

जीवन्त सम्पदा र रैथाने उद्योगको पहिचानलाई विश्व स्तरमा फैलाउन यो सहकार्यले ठूलो भूमिका खेल्ने विश्वास लिइएको गो लोकलका संयोजक विरेन्द्र जतिले बताउनुभयो ।

यसले भक्तपुरको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने र युवा पुस्तालाई आफ्नै मौलिक पहिचानप्रति गौरवान्वित बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको जतिले बताउनुभयो ।

सञ्चार तथा नेतृत्व विकासमा समर्पित ‘भक्तपुर टोस्ट मास्टर्स क्लबका प्रतिनिधिहरू सुदिप हाडा, ईश्वर पलिखेल, निरव कायष्ठ, अनिल पाउ र सन्दिप धवा लगायतले नेतृत्व क्षमता अभिवृद्धि गर्ने उपायबारे प्रयोगात्मक सुझाव दिनुभयो ।

संयोजक जतिले परम्परागत उद्योगहरूलाई कसरी जीवन्त राख्न सकिन्छ र तिनलाई पर्यटकीय आकर्षणको केन्द्र कसरी बनाउने भन्नेबारे संस्थाले गरिरहेका प्रयासहरू प्रष्ट पार्नुभयो ।

उहाँले गो लोकल ओझेलमा परेका रैथाने सीप, कला र उत्पादनलाई आधुनिक बजार र पर्यटनसँग जोड्ने एउटा साझा मञ्च हो भन्नुभयो ।

गो लोकलका सह–संयोजक रामसुन्दर भेलेले विगतमा सञ्चालित ‘भक्तपुर बाई नाइट कार्यक्रमको अनुभव साट्दै भक्तपुरलाई रात्रिकालीन पर्यटकीय गन्तव्य बनाउन सांस्कृतिक सम्पदा यात्रालाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

सदस्य रमिला दुवालले गो लोकलद्वारा प्रकाशित पुस्तक र भिडियोमा समेटिएका १५ वटा मौलिक उत्पादनहरूबारे संक्षिप्त जानकारी दिनुभयो । सदस्य सृजना कक्षपतिले गो लोकल अभियानका अन्य विविध गतिविधि र स्थानीय अर्थतन्त्रमा यसले पुर्‍याउन सक्ने योगदानबारे चर्चा गर्नुभयो ।

गो लोकल घरेलु तथा साना उद्योगबाट उत्पादन हुने भक्तपुरका परम्परागत एवं मौलिक रैथाने उत्पादनलाई पर्यटन उत्पादनको रुपमा प्रवद्र्धन गरिने अभियान हो ।

६ बर्ष अघि सुरु भएको यो अभियानले यहाँका  रैथाने उत्पादनलाई पर्यटन उत्पादनको रुपमा प्रवद्र्धन गर्न यसको गुणस्तर विकास र निश्चित मापदण्ड निर्धारण गरिएको छ ।

मौलिक उत्पादनलाई पर्यटनसँग जोडेर यसमा नयाँ पुस्तालाई आकर्षित गर्ने तथा महिला सशक्तीकरण गर्न रैथानेतर्फ कार्यक्रमको अवधारणा सारिएको संयोजक जतिको भनाई छ ।

जुजु धौ, काष्ठकला, भादगाउँले टोपी, ताइचिन चिउरा, माटाका भाँडाकुँडा, नेपाली कपडा बुनाई, गलैँचा बुनाई, कागजको मुकुन्डो, काठको मुकुन्डो र नेपाली कागज (हस्तकला) लाई भक्तपुरको रैथाने उत्पादनको संज्ञा दिइएको छ ।

त्यस्तै धातुकला, ऊनी बुनाई, फेल्ट बुनाई, चामल तथा पीठो र अयला (रक्सी) लाई पनि भक्तपुरको रैथाने उत्पादनको रुपमा लिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button